विश्व

कोप-२६ सम्मेलनभन्दा पहिले बेलायतद्वारा ५१ देशका वातावरणमन्त्रीसँग छलफल

इकागज |
साउन ११, २०७८ सोमवार ६:२३ बजे

लन्डन- सन् २०२१ को नोभेम्बरमा बेलायतको आयोजनामा स्कटल्याण्डको ग्लासगोमा हुने संयुक्त राष्ट्रसंघ जलवायु सम्मेलन (कोप-२६) भन्दा पहिले बेलायतले  जलवायु परिवर्तन समस्याबारे विभिन्न ५१ देशका जलवायु तथा वातावरण मन्त्रीहरूसँग छलफलको आयोजना गर्ने भएको छ ।

बेलायत सरकारका मन्त्री तथा कोप-२६ शिखर सम्मेलनका अध्यक्ष आलोक शर्माको संयोजकत्वमा हुने भेलाले शिखर सम्मेलनमा 'समाधानको आवश्यक पर्ने मुख्य मुद्दाहरु' लाई तय गर्ने बताइएको छ । 


शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'वातावरण मन्त्रीहरूको यो भेलाले जलवायु समस्याबारे साझा धारणा निर्माण गर्ने र ग्लासगो सम्मेलनको रूपरेखा तयार गर्नेछ ।'

वातावरण र जलवायुमामिला मन्त्रीहरूको बैठकमा अमेरिका, भारत र चीनकालगायतका देशबाट पनि सहभागिता हुने बताइएको छ । बैठकमा भर्चुअल र भौतिक दुबै प्रकारको उपस्थिति हुने बताइएको छ । यो विगत १८ महिनाको अवधिमा हुने मन्त्रीस्तरीय पहिलो प्रत्यक्ष भेला हुनेछ ।

शर्माले भने, 'हामीले हाम्रो ग्रहमा खतरनाक समयको सामना गरिरहेका छौं । देशहरू एउटै बाटोमा अघि बढे मात्र यसको भविष्यको रक्षा गर्ने एक मात्र तरिका हुनेछ ।' 

'ग्लासगोमा भेला भएका हामीहरूलाई निर्णायक यस दशकमा के गर्न आवश्यक छ र के हुनेछ भनी विश्व समुदायले हाम्रो निर्णयको प्रतिक्षा गर्नेछ ।' 

'हामीसँगै मिलेर समस्याबारे साझा आधार खोज्नु र सामूहिक रूपमा हामी कसरी आफ्ना बच्चाहरू र भविष्यका पुस्ताहरूको लागि हरियाली, उज्जवल भविष्य निर्माण गर्न सक्छौं यसको नतिजा निकाल्नु कोप-२६ को उद्देश्य हुनेछ ।'  

यस कार्यक्रमले १.५ सेन्टिग्रेड तापमान बृद्धि सीमालाई कायम राख्ने, जलवायु वित्त, जलवायु परिवर्तनलाई अनुकूल बनाउन प्रयास गर्ने, र पेरिस सम्झौताको कार्यान्वयनको लागि ‘रूलबुक’ लाई अन्तिम रूप दिने जस्ता विषयहरूको अन्वेषण गर्ने लक्ष्यलाई समेटेको छ । (एएफपी) 


Author

थप समाचार
x