तालिबान प्रतिनिधि मण्डलले भेट्यो चिनियाँ विदेश मन्त्रीलाई
काठमाडौँ- तालिबान प्रतिनिधि मण्डलले बुधबार चिनियाँ विदेश मन्त्री वाङ यीसँग भेटवार्ता गरेको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार मुल्लाह अबदुल घानी बरादारको नेतृत्वमा रहेका तालिबानी समूहले तियानजिनमा वाङलाई भेटेको हो । अमेरिकी फौजले अफगानिस्तान छाड्न सुरु गरेसँगै आफ्नो उपस्थिति मजबुद गर्दै लगेको तालिबानका संस्थापक बरादारसहितको टोलीलाई चिनियाँ विदेश मन्त्रीले भेटेका हुन् ।
तालिबानका लडाकूहरूले अफगानिस्तानको अधिकांश क्षेत्रमाथि कब्जा जमाउन अघि बढेको बताइदै छ । यस्तोमा चिनियाँ सरकारको चासो अफगानिस्तानसँग जोडिएको जिनजियाङको सुरक्षा अवस्था नखलबलियोस भन्ने छ । अफगानी सेनाले अमेरिकी वायु सेनाको सहयोगमा तालिबानलाई पछाडि धकेल्न प्रयास गरिरहे पनि सफल हुन सकिरहेको छैन । बरु पछिल्ला दिनमा तालिबानले बडाखसान र कान्दाहारका कयौँ जिल्लामाथि नियन्त्रण जमाएको छ ।
अमेरिकी वायु सेनाको ‘हवाई स्ट्राइक’ लाई तालिबानले आफूसँग गरेको दोहा सम्झौताविपरीत रहेको बताइरहेको छ । गत फेब्रुअरीमा कतारी राजधानी दोहामा बरादर नेतृत्वमा रहेको तालिबान र अमेरिकाबीच शान्ति सम्झौता भएको थियो । त्यसै अनुरुप अगस्टको अन्तिम सातासम्ममा अमेरिकी फौजले अफगानिस्तान छाड्ने सहमति भएको हो ।
अफगानिस्तानको पछिल्लो अवस्थालाई बेइजिङले नजिकबाट नियालिरहेको छ । अमेरिकी फौज अफगानिस्तानमा नरहने अवस्थामा चीनले त्यहाँ आफ्नो भूमिका बढाउने प्रयास गर्नेछ । चीनले तालिबान शात्निपूर्ण तवरमा अफगानी राजनीतिमा आएको हेर्न चाहेको छ । गत जुनमा पाकिस्तानी समकक्षीसँगको भेटमा पनि वाङले यस्तै आशय व्यक्त गरेको बताइएको छ । त्यसैबखत उनले आफ्नो मुलुक अफगानिस्तानका सबै पक्ष सहभागी हुने शान्ति वार्ताको आयोजना गर्न तयार रहेको पनि सन्देश दिएका थिए ।
‘अफगानिस्तान आफैँले आफ्नो समस्या समानधान गर्नुपर्छ भन्नेमा चीन प्रष्ट छ । र, अफगानिस्तानमा रहेको स्थितीका कारण चिनियाँ सुरक्षा खतरामा पर्नु हुँदैन,’ साउथ चाइना मर्निङ पोस्टले एक चिनियाँ अधिकारीलाई उदृत गर्दै लेखेको छ । उता तालिबानले भने जिनजियाङमा रहेका ‘उइगुरको सशस्त्र समूह’लाई समर्थन नगर्ने प्रतिबद्धता चीनसमक्ष गरिसकेको बताइएको छ ।
चीनले तालिकान प्रतिनिधि मण्डललाई स्वागत गरेको यो पहिलो पटक होइन । यसअघि सन् २०१९ मा पनि तालिबानको नौ सदस्यीय टोली बेइजिङ पुगेको थियो ।
चीनको उत्तरपश्चिम विश्वविद्यालयमा अन्तर्राष्ट्रिय राजनीति पढाउने प्राध्यापक यान यीले चिनियाँ सरकार र तालिबानबीच छलफल भइरहन आवश्यक रहेको प्रतिक्रिया दिए ।
‘तालिबान अफगानिस्तानको सरकारमा नगए पनि उ त्यहाँको बलियो राजनीतिक शक्तिका रुपमा स्थापित हुनेछ । अनि अफगानिस्तानको विकास र शन्ति सुरक्षामा पनि उसको भूमिका रहनेछ,’ यानले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया