विश्व

बङ्गलादेशमा कोभिडले एकै दिनमा मृत्यु हुनेको सङ्ख्या हालसम्मकै उच्च

इकागज |
साउन २२, २०७८ शुक्रबार ६:२९ बजे

बङ्गलादेशमा बिहीबार कोभिड-१९ का कारण एक दिनमा मृत्यु भएका विरामीको सङ्ख्या २६४ पुगेको छ । यो महामारी सुरू भएपछि एक दिनमा भएको अहिलेसम्मकै उच्च मृत्युसङ्ख्या हो । 

यससँगै बङ्गलादेशमा मृृत्यु भएका कोभिड सङ्क्रमितको सङ्ख्या कूल २१ हजार ९०२ पुगेको यहाँको स्वास्थ्य सेवा निर्देशनालय (डीजीएचएस) ले जनाएको छ ।


सरकारी तथ्याङ्कअनुसार बङ्गलादेशमा विगत २४ घण्टामा १२ हजार ७४४ थप सङ्क्रमित भएको पुष्टि गरिएको छ । योसँगै एशियाली यस मुलुकमा अहिलेसम्म सङ्क्रमित हुनेको कूल सङ्ख्या १३ लाख २२ हजार ६५४ पुगेको छ ।  

सरकारी अधिकारीका अनुसार बङ्गलादेशभरि स्थानीय समयअनुसार बिहीबार ८ः००  बजेसम्म पछिल्लो २४ घण्टामा ४६ हजार ९९५ व्यक्तिको कोभिड परीक्षण गरिएको थियो ।  

बिहीबार १५ हजार ७८६ थप व्यक्तिले कोभिड सङ्क्रमणपछि निको भई घर फर्किएका छन् । यो मुलुकमा निको भएका बिरामीको कूल सङ्ख्या एक लाख १५ हजार ९४३ रहेको डीजीएचएसले जनाएको छ । 

सरकारले दिएको जानकारीमा बङ्गलादेशमा अहिले कोभिड-१९ सङ्क्रमितको मृत्युदर १.६६ प्रतिशत रहेको छ भने हालसम्म ८७.४७ प्रतिशत सङ्क्रमित निको भएका छन् । 

यसपहिले बङ्गलादेशमा एकै दिनमा सबैभन्दा बढी सङ्क्रमित सङ्ख्या जुलाई २८ मा १६ हजार २३० रहेका जनाइएको थियो । जुलाई २७ मा एक दिनमा सबैभन्दा धेरै २५८ कोभिड सङ्क्रमित विरामीको मृत्यु भएको थियो ।
 


Author

थप समाचार
x