अमेरिकी मित्र पेरुको चीनसँग नजिक हुने चाहना
पेरुका राष्ट्रपति पेड्रो कास्टिलो
काठमाडौँ- गत साता दक्षिण अमेरिकी मुलुक पेरुले वामपन्थी सरकार पायो । राष्ट्रपति बने, पेड्रो कास्टिलो । उनै कास्टिालो अर्को कम्युनिष्ट मुलुक चीनसँग सम्बन्ध समुधुर बनाउने बाटोमा अघि बढेका छन् ।
पेरु पारम्परिक रुपमा अमेरिकासँग नजिक रहँदै आएको मुलुक हो । तर पेरुका विगतका सरकारहरूले पनि चीनसँग नजिक रहिरहन खुबै कोशिस गरेका हुन् । यसो गर्नु एक हिसाबले व्यवहारिक पनि हो । किनभने पेरुको तामा खरिद गर्ने मुलुकहरूमा चीन अग्रपंक्तिमा छ । र, तामा निर्यात नै पेरुको आम्दानीको मुख्य स्रोत हो ।
कास्टिलोले गत जुलाई २८ मा राष्ट्रपतिको सपथ लिए । आफ्नो कार्यकाल सुरु भएसँगै कास्टिलोले तुरुन्तै चिनियाँ राजदूतलाई भेटे । अनि पेरुमा रहेका चिनियाँ कम्पनीहरूका प्रतिनिधिहरूलाई पनि । पेरु विश्वको दोस्रो ठूलो तामा उत्पादक हो । अनि उत्पादनमा महत्वपूर्ण भूमिका यिनै चिनियाँ कम्पनीहरूको छ । किनभने पेरुका ठूला–ठूला तामा खानी चिनियाँहरू नै सञ्चालन गर्छन् ।
पेरुमा वामपन्थी सरकार भएकैले चीनसँगको सम्बन्धलाई बढी महत्व दिइएको हो त ? होईन । माथि उल्लेख गरेझैँ विगतमा पेरुको सत्ता सम्हालेकाहरूले पनि चीनसँगको सम्बन्धलाई प्राथमिकतामै राखेका हुन् । यसो गरिनुमा कुनै कारण ? ‘परिवर्तनशिल विश्व राजनीतिबारे पेरु जानकार छ । त्यही अनुसारको कदम चालिएको हो । कुनै राजनीतिक विचारधाराका कारण होईन,’ कुनैबेला चीनका लागि पेरुका राजदूत रहेका र हाल अमेरिकाको बोस्टन विशवविद्यालयमा पढाइरहेका होर्गे हेइने भन्छन् ।
पेरु हालको कर नीति परिवर्तन गर्न चाहन्छन् । उनी तामा खानी सञ्चालकबाट बढी भन्दा बढी कर उठाउन चाहन्छन् । विगतको सरकारले निकै चिनियाँ कम्पनीहरूलाई कम कर असुल्ने नीति बनाएको थियो । अब कास्टिलोको आगमनसँगै यो व्यवस्था परिवर्तन हुन लागेको छ । यसको असर ती चिनियाँ कम्पनीहरूमा पर्नेछ । यसकारण पनि पेरुमा चिनियाँ राजदूतको सक्रियता बढेको छ ।
उसो त परिवर्तित करका कारण चीनसँगको सम्बन्धमा दरार आउन नदिन कास्टिलो सचेत छन् । यसकै नतिजा हो, पेरुले चिनियाँ कम्पनी सिनोफार्मद्वारा उत्पादित कोभिड–१९ विरुद्धको खोप प्रयोग गर्ने घोषणा । यसअघि पेरु फाइजरको खोप खरिदमा केन्द्रित थियो । आउँदो शुक्रबार राष्ट्रपति कास्टिलो आफैँले चिनियाँ खोप लगाउनेछन् । रोयटर्सको सहयोगमा
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया