विश्व

अस्ट्रेलियामा डेल्टा भेरिएन्टको प्रकोप र खोप कार्यक्रममा ढिलाइ सँगसँगै

इकागज |
साउन २२, २०७८ शुक्रबार १३:४७ बजे

काठमाडौँ-पछिल्ला साताहरूमा कोभिड–१९ को डेल्टा भेरिएन्टको व्यापक असर पूर्वी एसियामा देखिएको छ । अस्ट्रेलिया पनि डेल्टाको पीडाबाट अछुतो छैन । विशेषगरी सिड्नी सहरमा डेल्टाको संक्रमणमा पर्नेको संख्या बढी देखिएको छ । डेल्टाकै कारण सिड्नीमा लगातार दोस्रो दिन पनि रेकर्ड संख्यामा कोभिड संक्रमित फेला परेका छन् । 

प्रत्येक दिन संक्रमितको संख्यामा अत्याधिक बढोत्तरी भएपछि सिड्नीमा चेतावनी जारी गरिएको छ । ‘अहिलेको ट्रेन्‍ड देख्दा के अनुमान गर्न सकिन्छ भने, आगामी दिनमा सिड्नीमा संक्रमितहरुको संख्या निकै बढ्नेछ । त्यसकारण हामी सबैजना यसका लागि तयार रहनुपर्छ,’ सिड्नी सहर रहेको न्यू साउथ वेल्स राज्यका प्रमुख ग्लाडिज बेरेयिकलियानले भनेका छन् ।


शुत्रबार जारी गरिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा सिड्नीमा दुई सय ७९ नयाँ संक्रमित फेला परेका छन् । अघिल्लो दिन संक्रमितको संख्या दुई सय ५९ थियो । समग्र न्यू साउथ वेल्स राज्यमा पछिल्लो २४ घण्टामा दुई-दुई सय ९१ संक्रमित भेटिएका थिए । यो संख्या अघिल्लो दिनको भन्दा २९ ले बढी हो । यसैगरी सो राज्यमा पछिल्लो २४ घण्टामा एक जनाको ज्यान गएको छ । यससँगै कोभिडको कारणले मृत्य हुनेको संख्या २२ पुगेको छ । यी सबैजनाको मृत्य सिड्नीमा भएको हो ।

 न्यू साउथ वेल्समा कोभिड संक्रमणमा पर्नेको संखया बढिरहँदा छिमेकी राज्य भिक्टोरिया अझैँ पनि लकडाउनमै छ । उसले बिहीबार मात्रै नयाँ लकडाउन लागू गर्‍यो । भिक्टोरियामा लागू गरिएको यो छैठो लकडाउन हो । शुक्रबारको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा त्यस राज्यमा ६ जनामा कोभिड संक्रमण देखिएको छ ।

उता मेलबर्नमा भने बिहीबार नै लकडाउनविरुद्ध प्रदर्शन गरियो । अर्को राज्य क्विन्सल्यान्डको राजधानी ब्रिसबनमा भने अघिल्लो दिनको भन्दा कम कोभिड संक्रमित फेला परेको बताइएको छ । घट्दो संक्रमणका कारण ब्रिसबनमा भने आइतबार लकडाउन हटाइने बताइएको छ । 

हाल अस्ट्रेलियामा जनसंख्याको ६० प्रतिशत नागरिक लकडाउनमा छन् । त्यहाँको तीन मुख्य सहर सिड्नी, मेलबर्न र ब्रिसबनमा लकडाउन जारी छ । समयमै सिमा बन्द गर्न, निषेधाज्ञा, ट्रेसिङ लगायतमा ध्यान दिँदा अस्ट्रेलियामा तुलनात्मक रुपमा कम संक्रमित फेला परेका छन् । शुक्रबारसम्म कुल ३५ हजार ६०० संक्रमित भेटिएका छन् भने नौ सय ३३ को मृत्य भएको तथ्यांक छ । यद्यपि खोप लगाउने कार्यक्रम भने अपेक्षित ढंगले सञ्चालन हुन सकेको छैन । हालसम्म १६ वर्ष भन्दा माथिका कुल २१ प्रतिशत जनसंख्यालाई मात्र खोप लगाइएको छ । रोयटर्सको सहयोगमा 


Author

थप समाचार
x