विश्व

भीषण वर्षाका कारण उत्तर कोरियामा खाद्य संकट

इकागज |
साउन २४, २०७८ आइतबार १३:० बजे

काठमाडौँ- भीषण वर्षाका कारण प्रभावित क्षेत्रमा राहत बाढ्न उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आइतबार सेना परिचालन गरेका छन् । वर्षाका कारण आएको बाढीबाट प्रभावित हामयोङ प्रान्तमा उद्वारका लागि सेना परिचालन गरिएको हो । उत्तर कोरियाको सरकारी सञ्चार माध्यम केसीएनएका अनुसार हामयोङले आर्थिक र खाद्य संकट सामना गरिरहेको छ । 

उत्तर कोरियाली कम्यनुष्टि पार्टीको केन्द्रीय सैन्य परिषद्को‍ बैठकले सेना परिचालनको निर्णय गरेको हो । किम आफू भने त्यस बैठकमा सहभागी भएका थिएनन् । तर उनको सन्देश भने बैठकमा सुनाइएको थियो । 


केसीएनएका अनुसार वर्षा र बाढीका कारण प्रभावित क्षेत्रमा सेनाले उद्धार कार्यलाई अघि बढाउनेछ भने स्थानीय नागरिकहरुका लागि खाद्य सामाग्री पनि उपलब्ध गराउनेछ । उत्तर कोरियाले यसै पनि अन्तर्राष्ट्रिय प्रतिबन्ध व्यहोरिरहेको छ । जसकारण त्यहाँ पहिलेबाटै आर्थिक संकट छ । थपिएको कोभिड–१९ महामारी र बाढीले उत्तर कोरियामा खाद्य संकट ल्याएको छ ।

गत जुनमा किमले कोभिड महामारीका कारण आफ्नो मुलुकले खाद्य संकटको सामना गरिरहेको बताएका थिए । केही समयअघि दक्षिण कोरियाको केन्द्रीय बैंकले उत्तर कोरिया २३ वर्ष यताकै सबैभन्दा ठूलो आर्थिक संकटमा परेको दाबी गरेको थियो । दक्षिण कोरियाकै केही सासंदहरुले उत्तर कोरियालाई तत्काल १० लाख टन चामलको आवश्यक रहेको बताएका थिए । 

उत्तर कोरियाले हालसम्म कोभिड संक्रमितको संख्याबारे केही खुलाएको छैन । यद्यपि आफ्नो सीमा नाका भने बन्द गरेको छ र मुलुकभित्रका प्राय स्थानमा लकडाउन जारी गरिएको छ ।  


 


Author

थप समाचार
x