विश्व

हाइटीमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ठूलो क्षतिको आशंका

इकागज |
साउन ३०, २०७८ शनिबार २०:४५ बजे

फाइल फोटो

काठमाडौँ - हाइटीमा ७.२ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण विभागका अनुसार राजधानीको मध्य पोर्ट–अउ–प्रिन्सबाट १६० किलोमिटर टाढा रहेको बताइएको छ । हाइटीमा गएको भूकम्पको झट्का छिमेकी मुलुकहरूसमेत महसुस गरिएको छ ।  

प्रकोपले ग्रस्त क्यारेबियन राष्ट्र हाइटीको पश्चिममा भूकम्पपछि सुनामी आउनसक्ने भन्दै हजारौँ मानिसलाई समूद्र किनारबाट टाढा तथा अग्लो सुरक्षित स्थलतर्फ जान आग्रह गरिएको छ । युएसजीएसले हाइटीको तटवर्ती इलाकामा भूकम्पपछि तीन मिटरसम्म छालहरू आउनसक्ने चेतावनी दिएको छ । 


प्रारम्भिक विवरणमा भूकम्पका कारण कैयौँ भौतिक संरचनाहरू भत्किएको बताइएको छ । भूकम्पका कारण सयौँ निजी तथा सामुदायिक भवनहरू भत्किएका अपुष्ट सूचनाहरू प्राप्त भएका हाइटीका अधिकारीले बताएका छन् ।

 प्रत्यक्षदर्शीले घटनास्थलबाट सामाजिक सञ्जालमार्फत सार्वजनिक तस्बिरमा भूकम्पले हाइटीको दक्षिणपश्चिमी प्रायद्वीपका स्कूलहरूका आवासीय भवनहरूमा क्षति पुर्याएको देखिएको छ । 

यस पहिले हाइटीमा सन् २०१० को जनवरीमा गएको ७.० रेक्टर स्केलको भूकम्पले पोर्ट–अउ–प्रिन्स र नजिकैका अधिकांश शहरहरूमा ठूलो क्षति भएको थियो । उक्त भूकम्पमा परी कम्तीमा दुई लाखभन्दा बढी मानिसको ज्यान गुमेको थियो । 


Author

थप समाचार
x