विश्व

अफगानी प्रतिनिधि मण्डल इस्लामाबादमा

अफगानिस्तानको पछिल्लो अवस्थाबारेमा छलफल गर्न पाकिस्तानले क्षेत्रिय सम्मेलन गर्ने

इकागज |
साउन ३१, २०७८ आइतबार २०:४ बजे

काठमाडौँ - तालिबान आइतबार अफगानी राजधानी काबुल प्रवेश ग¥यो । उसले मुलुकको केन्द्रीय राजधानीलाई नियन्त्रणमा लिइसकेको छैन । राष्ट्रपति असरफ घानी नेतृत्वको अफगानी सरकारले आफूलाई शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गरोस् भन्ने सन्देश तालिबानले दिएको छ ।तर राष्ट्रपति घानीले अफगानिस्तान छाडेको खबर आइरहँदा, सत्ता हस्तान्तरण कहिले र कुन तरिकाले हुन्छ ? रोडम्याप स्पष्ट छैन ।

यसैबीच अर्को नयाँ खबर आएको छ, अफगानिस्तानबाट एक प्रतिनिधि मण्डल छिमेकी पाकिस्तान पुगेको छ । जसको नेतृत्व गरेका छन् मिर रेहमान रहेमानीले । उनी अफगानिस्तानको तल्लो सदनका सभामुख हुन् । 


इस्लामाबाद पुगेको प्रतिनिधि मण्डलमा रेहमानी बाहेक सल्लाहउद्दिन रब्बानी, मोहम्मल युनुस कानुनी, उस्ताद मोहम्मद करिम खलिली, अहमद जिया मसुद, अहम्मद वाली मसुद, अब्दुल लतिफ पेडराम र खालिद नुर छन् । अफगानिस्तानका लागि पाकिस्तानका विशेष दूत मोहम्मद सादिकले काबुलबाट पाकिस्तानी राजधानी पुगेको टोलीसँग दुई मुलुक जोडिएका विषयमा छलफल हुने बताएका छन् । 

अफगानी टोली पाकिस्तान किन पुग्यो भन्ने विषय प्रष्ट छैन । तर तालिबान काबुल प्रवशे गरेसँगै उत्पन्न विशेष परिस्थितीकै बारेमा छलफल गर्न अफगानी नेताहरु इस्लामाबाद गएको अनुमान गरिएको छ । पाकिस्तानको अखबार दी एक्सप्रेस ट्रिब्युनले इमरान खान सरकारले अफगानिस्तानका विषयमा क्षेत्रिय सम्मेलन गर्ने सम्भावना रहेको लेखेको छ ।

क्षेत्रिय शक्ति मुलुकहरुका विदेश मन्त्रीहरुलाई आमन्त्रण गरी सम्मेलन आयोजना गर्ने हाम्रो तयारी छ, पाकिस्तानी विदेश मन्त्रालयका एक अधिकारीले ट्रिब्युनलाई भनेका छन् । सो सम्मेलनमा अफगानिस्तान बाहेक रुस, चीन, इरान लगायतका मुलुकका विदेश मन्त्रीहरुले छलफल गर्ने सम्भावना छ । पाकिस्तानले आयोजना गर्ने सम्मेलनको उदेश्य अफगानिस्तानलाई अर्को गृह युद्धमा जानबाट रोक्नु नै रहेको ट्रिब्युनको भनाइ छ । 


Author

थप समाचार
x