भारतले सन् २०२२ देखि कोभिड–१९ खोप निर्यात खुला गर्ने
काठमाडौँ– भारतले सन् २०२२ को शुरुवातदेखि कोभिड–१९ विरुद्धको खोप निर्यात खुला गर्ने भएको छ । भारतलाई महामारीको दोस्रो लहरले आक्रान्त पारेपछि बन्द भएको खोप निर्यात झण्डै ८ महिनापछि खुला गर्ने भारतको तयारी छ ।
भारतमा खोपसम्बन्धी राष्ट्रिय प्राविधिक समूहका अध्यक्ष एनके अरोराले भारतले सन् २०२१ को अन्त्यसम्म यसको वयस्क जनसंख्यालाई ओप उपलब्ध गराइसक्ने र निर्यात खुला गरिने ब्लुमवर्ग टेलिभिजनसँगको अन्तर्वार्तामा बताएका छन् । अहिले विश्वका ६० भन्दा धेरै मुलुकहरू खोपमा पहुँचका लागि संघर्षरत छन् ।
‘हामीले वयस्क जनसंख्यालाई खोप दिइसकेपछि बाँकी विश्वका लागि निर्यात गर्न हामीसँग उल्लेख्यमात्रामा खोप हुनेछ ।,’ अरोराले भनेका छन् । धेरै जनसंख्यालाई कोभिड–१९ संक्रमण हुनेमा भारत दोस्रो मुलुक हो । त्यहाँ ३ करोड २५ लाखमा संक्रमण भएको थियो । भारतमा ६ ओटा कम्पनीले खोप उत्पादन गरिरहेका छन् । भारत सरकारले नयाँ उत्पादनलाई परीक्षण र प्रमाणीकरण गर्ने काम अघि बढाइसकेको छ र परामर्शदाता समूहको प्रमुखका रूपमा उनले भारत सरकारलाई खोपको मूल्यांकन र परीक्षणको तथ्यांक समीक्षामा सहयोग गरिरहेका छन् ।
सन् २०२० को अन्त्य र २०२१ को शुरुवातमा भारतले विश्वकै ठूलो खोप उत्पादक राष्ट्र हुनुका नाताले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको खोप कूटनीतिलाई सार्थक बनाउन धेरै गरिब देशहरूलाई खोप उपलब्ध गराउने कार्य अघि बढाएको थियो । विश्व स्वास्थ्य संगठन, गाभी– विश्वव्यापी खोप सहकार्य, कोलिसन फर इमिडेमिक प्रिपियर्डनेस इनोभेसन्स (सेपी) र संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) लगायतको सहकार्यमा अघि बढेको कोभ्याक्स पहलमा भारत प्रमुख खोप आपूर्तिकर्ता रहेको थियो । यद्यपि, भारतमा दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्र भएपछि कोभ्याक्समा भारतले गरेको प्रतिवद्धता अनुसारको आपूर्ति रोकिदाँ कोभ्याक्स कार्यक्रम नै प्रभावित हुन पुगेको छ । सन् २०२२ शुरु हुँदा भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएको ८ महिना पुग्नेछ ।
भारतबाट कोभ्याक्समा खोप आपूर्ति प्रभावित भएपछि कोभ्याक्सले यो न्यूनता पूर्ति गर्न अन्य स्रोतहरू खोजी गरिरहेको छ । यो न्यूनतालाई अहिले चीनले पूर्ति गरिरहेको छ भने भारतले पनि खोप निर्यात खुला गर्ने तयारी थालेको छ । भारतीय प्रधानमन्त्री मोदीले सन् २०२१ सम्म वयस्क जनसंख्यालाई खोप वितरण गरिसक्ने प्रतिवद्धता जनाएका छन् । अरोराले त्यहाँ ९२ करोड वयस्क व्यक्तिले डिसेम्बरको अन्त्यसम्ममा खोप पाइसक्ने बताएका छन् । यसका लागि १.८ अर्ब डोज खोप आवश्यक हुन्छ, भारतको आफ्नै उत्पादनबाट खोप वितरण सम्भव हुने अरोराले बताएका छन् ।
भारतमा सिरम इन्स्टिच्यूट अफ इण्डियाले यसअघि नै अष्ट्राजेनेका खोपको व्यवसायिक उत्पादन गर्दै आइरहेको थियो । यसका अतिरिक्त भारत बायोटेकले कोभ्याक्सिन उत्पादन गरिरहेको छ । भारतमा क्याडिला हेल्थकेयरले रूसको गामालिया सेन्टरले विकास गरेको ‘स्पुतनिक फाइभ’ को व्यवसायिक उत्पादनको तयारी गरिरहेको छ ।
सिरम इन्स्टिच्यूट भारतको सबैभन्दा ठूलो खोप उत्पादक रहेको छ । यसले अहिले मासिक १२ करोड मात्राबाट बढाएर १५ करोड मात्रा खोप उत्पादन गरिरहेको छ । सेप्टेम्बरसम्म भारत बायोटकले पनि यसको उत्पादन क्षमता मासिक १२ करोड मात्रा पुर्याउने बताएको छ । बीचमा प्राविधिक समस्याका कारण भारत बायोटेकले ठूलो परिमाणमा खोप उत्पादन गर्न सकेको थिएन । भारतमा बायोलोजिकल ई लिमिटेड, जेनोभा बायोफर्मास्युटीकल्स लगायतले पनि खोप उत्पादन गरिरहेका छन् ।
अहिलेसम्म भारतमा झण्डै ५९ करोड मात्रा खोप लगाइसकिएको छ । त्यहाँ, पूर्णमात्रा खोप पाउनेको जनसंख्या १० प्रतिशत छ । भारतले आयातीत नभइ आफ्नै खोप उत्पादनबाट सन् २०२१ भित्र सबै वयस्क जनसंख्यामा खोप पुर्याउने लक्ष्य राखेको अरोराले बताएका छन् । यद्यपि अन्य खोप उत्पादक फाइजरसँग वार्ता गरी भारतमै खोप उत्पादन गर्ने तयारी भैरहेको भएपनि यसमा कुनै ठोस उपलब्धि हासिल भएको छैन ।
‘हामी आफैंले उत्पादन गरेका खोपमा निर्भर छौं,’ उनले भनेका छन्, ‘हामीले खोप योजनामा बाह्य मुलुकबाट खोप आयात गरेर ल्याउने योजना समावेश गरेका छैनौं ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया