विश्व

संविधान दिवसमा भारतका प्रधानमन्त्री मोदीको शुभकामना

इकागज |
असोज ३, २०७८ आइतबार ९:४४ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हार्दिक शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै समकक्षी मोदीले नेपाली जनताका साथै प्रधानमन्त्री देउवाप्रति बधाई ज्ञापन गरेका हुन् ।

संस्कृतिको सुदृढ सूत्र, पारस्परिक सम्पर्क र जनता–जनताबीचको सम्बन्धले भारत र नेपाललाई जोडेको बताउँदै उनले सन्देशमा दुवै देशबीचको अनुपम एवम् विशेष साझेदारीयुक्त समान सम्बन्ध विश्वका केही देशबीचमात्र रहेको उल्लेख गरेका छन् ।


अकल्पनीय कोभिडको महामारीबाट मुक्त हुनेतर्फ विश्व अग्रसर भइरहेको अहिलेको अवस्थामा महामारीका कारण सिर्जित चुनौतीको सामना गर्न नेपाललाई भारतबाट निरन्तर एवम् अविचलित सहयोग हुने प्रतिबद्धता प्रधानमन्त्री मोदीले सन्देशमा दोहोर्‍याएका छन् ।

ओजपूर्ण एवम् बहुआयामिक साझेदारीको माध्यमबाट शान्ति र समृद्धि हासिल गर्ने दुवै देशका जनताको साझा लक्ष्यका निम्ति भारत र नेपालबीचको सुदृढ पारस्परिक सम्बन्धलाई थप गति दिन प्रधानमन्त्री देउवासँग निकटमा रहेर सहकार्य गर्न आफू प्रतीक्षारत रहेको प्रधानमन्त्री मोदीले बताएका छन् । 


Author

थप समाचार
x