विश्व

आसियानले म्यानमारका सेना प्रमुखलाई बहिस्कार गर्ने

सैनिक सरकारलाई ठूलो धक्का

इकागज |
असोज ३१, २०७८ आइतबार ९:२६ बजे

म्यानमार - दक्षिण पूर्वी एशियाली राष्ट्रहरुको संगठन (आसियान)को बार्षिक सम्मेलनमा बर्माका सेना प्रमुख जनरल मिन अङ हेइङलाई सहभागी नगराइने भएको छ । बर्माको सेनाले यही जनवरीमा त्यहाँको निर्वाचित सरकारलाई कु गरेर सत्ता आफ्नो हातमा लिएको थियो । 

आसियानले जनरलको सट्टा गैरराजनीतिक प्रतिनिधिलाई बोलाउन सहमति जनाएको छ । १० सदस्य राष्ट्र रहेको आसियानको यो निर्णयलाई धेरैले अप्रत्यासित भनेका छन् । अहिलेसम्म आसियानका सदस्य राष्ट्रले एक अर्कोलाई हस्तक्षेप गरेका थिएनन् । म्यानमारको उथलपुथल अशान्ति अन्त्य गर्न त्यहाँको सेनाले केही पहल नगरेको आसियानले जनाएको छ । 


अगस्टमा जनरल मिनले आफूलाई प्रधानमन्त्री घोषणा गर्दै सेना र लडाकुबीचको युद्ध जारी रहेकोले त्यहाँ लगाइएको संकटकाल अझै लम्बिन सक्ने संकेत गरेका थिए । आगामी २६ देखि २८ अक्टोबरसम्म ब्रुनाईमा आयोजना हुने आसियान सम्मेलनमा म्यानमारका सरकार प्रमुखलाई सहभागी हुन दिने कि नदिने भन्ने बारेमा शनिबार  आपतकालिन बैठक बसेको थियो । बैठकमा म्यानमारलाई सहभागी गराउने विषयमा कुनै सहमति ननिस्कएको आसियानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

म्यानमारका सैनिक नेताहरुले वार्ता नगरेको र देशमा तनाब अन्त्यका लागि कुनै पहल नगरेको आसियानले आरोप लगाएको छ । यसअघि आसियानका प्रतिनिधिले घरमै नजरबन्दमा रहेकी नेतृ आङ सान सु चीलाई भेट्न खोज्दा त्यहाँको सेनाले  अनुमति दिएको थिएन् । म्यानमारको राजनीतिक अवस्थाले क्षेत्रीय सुरक्षा, एकता, विश्वसनीयता र आसियानको छविमा असर गरेको ब्रुनाईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस वर्षको आसियान सम्मेलन ब्रुनाईले आयोजना गर्दै छ ।

 जुलाईमा आसियानले म्यानमारका जनरललाई दमन रोक्न र राजनीतिक बन्दी रिहा गर्न अनुरोध गरेको थियो । तर,आसियानको अनुरोधलाई म्यानमारले बेवास्ता गरेको थियो । सरकारलाई बहिस्कार गर्ने आसियानको निर्णय म्यानमारका सेनालाई ठूलो धक्का हुने विश्लेषकहरूले टिप्पणी गरेका छन् ।


Author

थप समाचार
x