विश्व

कोभिडको डेल्टा प्लस भेरियन्ट झन चाँडो सर्ने

इकागज |
कात्तिक ७, २०७८ आइतबार ६:२५ बजे

लण्डन - बेलायतको एउटा स्वास्थ्य सुरक्षा निकाय (युकेएचएसए) ले डेल्ट प्लस भेरियन्ट झन चाँडो फैलिने निश्कर्ष निकालेको छ ।  निकायका अधिकारीहरूले शुक्रबार सार्वजनिक गरेको विवरणमा लामो समयको अध्ययनबाट यस्तो निश्कर्ष निकालिएको उल्लेख छ । यस बारेमा थप अध्ययन अझै भइरहेको पनि उनीहरूको भनाइ छ । तर यसको असर भने गम्भीर प्रकारको नहुने सकारात्मक संकेत पनि अनुसन्धानकर्ताहरूले सुनाएका छन् । अहिले उपलब्ध रहेका खोपहरूले नै यसबाट सङ्क्रमितलाई बचाउन सकिने उनीहरूको निश्कर्ष छ । 

बेलायतमा पछिल्लो समय कोभिडबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या अत्यधिक धेरै देखिएको  छ । तीमध्ये डेल्टा भेरिअन्टबाट सङ्क्रमितहरू नै धेरै रहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । उनीहरूले डेल्ट प्लस भेरियन्ट व्यापक रूपमा फैलिन सक्ने तर अहिले उपलब्ध खोपहरूले नै काम गर्न सक्ने जनाएका छन् ।


स्वास्थ्य अधिकारीहरूले दिएकोे विवरणअनुसार विश्वमा कोभिडका हजारौँ भेरिअन्टहरू अहिले फैलिरहेका छन । भाइरस उत्परिवर्तित भइरहने हुँदा नयाँ भेरियन्ट देखा पर्नुलाई आश्चर्यजनक रूपमा लिनु नपर्ने उनीहरूको भनाइ छ । अमेरिकामा पनि डेल्टा प्लस भेरियन्टका कारण धेरै मानिस सङ्क्रमित भएको पाइएको अमेरिकी अधिकारीहरूले जनाएका छन् । 

त्यसैगरी डेनमार्कमा पनि यो भेरियन्ट देखिएको छ, तर सङ्क्रमितहरूको सङ्ख्या भने काम देखिँदै गएकाले धेरै चिन्ता लिनुपर्ने अवस्था छैन तर उच्च सतर्कता अपनाइरहनुपर्नेतर्फ भने अधिकारीहरूले जोड दिएका छन् । कोभिडले आफ्नो रूप फेर्दै फैलिँदै गरेकाले कतिपय देशहरूले आफ्नो देशका बासिन्दालाई खोपको अतिरिक्त मात्रासमेत दिन थालेका छन् । 

साथै मास्क लगाउने, सेनिटाइजर वा साबुन पानीको प्रयोग गर्ने, सम्भव भएसम्म सामाजिक दुरी कायम गर्नेलगायतका उच्च सतर्कता भने अपनाउनुपर्नेमा सबैले जोड दिने गरेका छन् । त्यसैगरी कोठाका झ्यालढोका खुला राख्न, कुनै लक्षण देखिए पीसीआर परीक्षण गर्न र नेगेटिभ नतिजा नआउन्जेल एक्लै बस्न पनि उनीहरूले आह्वान गर्ने गरेका छन् । कोभिडले रूप फेर्दै जाँदा अहिले प्रयोग हुँदै र प्रभावकारी हुँदै आएका खोपहरूले पनि काम नगर्ने अवस्था पनि आउन सक्नेतर्फ विज्ञहरूले सतर्क गराएका छन् ।  रासस

 


Author

थप समाचार
x