विश्व

सुडानमा सैनिक ‘कु’ विरुद्ध प्रदर्शनमा उत्रिएका ७ जना मारिए

१४० जना घाइते

इकागज |
कात्तिक ९, २०७८ मगलवार ७:४२ बजे

काठमाडौँ - सुडानमा सेनाले गरेको सत्‍ता कब्‍जाको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले गोली चलाएको छ । सेनाको गोली लागेर सात जनाको मृत्‍यु भएको अन्तर्राष्‍ट्रिय सन्‍चारमाध्‍यमहरूले जनाएका छन् । सेना र प्रदर्शनकारीबीचको झडपमा गोली चल्दा सात जनाको मृत्यु भएको रोयटर्सले उल्‍लेख गरेको छ । स्‍वास्‍थ्‍य मन्‍त्रालयका एक अधिकारीलाई उदृत गर्दै रोयटर्सले जनाएअनुसार १४० जना घाइते भएका छन् । 

सुडानमा सोमबार संक्रमणकालीन सरकारको नेतृत्‍व गरिरहेको सेनाले सत्ता कब्जा गरेको थियो । सेनाले प्रधानमन्त्रीसहित थुप्रै नेतालाई गिरफ्तार गरेको थियो । सशस्त्र बलले नागरिक शासन अपदस्त गरी राजनीतिक नेताहरूलाई पक्राउ गरेर संकटकाल घोषणा गरेपछि प्रदर्शनकारीहरू सडकमा आएका हुन् । ‘कू’ पछि अधिकांश इन्टरनेट र टेलिफोन सेवा काटिएको छ ।



Author

थप समाचार
x