विश्व

सुडानका प्रधानमन्त्री रिहा

इकागज |
कात्तिक १०, २०७८ बुधवार १५:४२ बजे

काठमाडौँ - सुडानी प्रधानमन्त्री अब्दल्ला हम्डोकलाई रिहा गरिएको छ । अन्तर्राष्ट्रिय रुपमा भएको कडा दबाबपछि उनलाई मंगलबार अबेर राती सैन्य कूबाट रिहा गरिएको उनको सचिवालयले जनाएको छ । यद्यपी सेनाले हम्डोकलाई ‘निकट निगरानीमा’ राखिएको बताएको छ । अन्य मन्त्रीहरु र नागरिक नेताहरू गिरफ्तारमा नै रहेको उनको कार्यालयले जानकारी दिएको छ ।  

सैन्य 'कू'पछि अमेरिका र ईयूले  सुडानलाई दिइरहेको सहायता निलम्बन गर्ने चेतावनी दिएको थियो । यसैबीच संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले सुरक्षा परिषद्को आपतकालीन बैठक शुरु हुनु भन्दा अगाडि नै हम्डोकलाई ‘तुरुन्त रिहा गर्न’ माग गरेका थिए । बैठकअघि, संयुक्त राष्ट्रसंघका लागि रुसका उपराजदूत दिमित्री पोल्यान्स्कीले काउन्सिलले सबै पक्षबाट हिंसा रोक्न अपील गर्नुपर्ने बताएका थिए । 


लामो समयदेखि निरंकुश शासक ओमार अल–बशिरको सन् २०१९ अप्रिल मा विशाल सडक विरोधका क्रममा सेनाले अपदस्थ गरेपछि सेना र नागरिकहरू बीचको नाजुक शक्ति बाँडफाँड व्यवस्थाको परिणाम नै यो ‘कू’ भएको बताइन्छ । गत सोमबार सुडानको सेनाले प्रधानमन्त्री अब्दल्ला हम्डकसहित दर्जनौ नेताहरुलाई गिरफ्तार गरेको थियो  । प्रधानमन्त्री हम्डकलाई अपदस्थ नै गरेर सेनाले सत्ता नियन्त्रणमा लिएको विदेशी सञ्चार माध्यमहरुले जनाएका छन् । 

सत्ताविद्रोह गरेको सेनाले प्रधानमन्त्रीलाई पदत्याग गर्न भनेपनि उनले अस्वीकार गरेपछि सेनाले प्रधानमन्त्री हम्डकलाई नियन्त्रणमा लिएका थिए । नागरिक अगुवाहरु समेत सम्मिलित सुडानी सरकार र सेनाका बीचमा पछिल्लो केही समयदेखि सम्बन्धमा तिक्तता आएको थियो । 

सोमबार गरेको कूका विरुद्धमा व्यापक विरोध प्रदर्शन क्रममा सरकारी सुरक्षाकर्मीले दमन गर्दा कम्तीमा सात जनाको मृत्यु हुनुको साथै १४० भन्दा बढी  घाइते भएका थिए  । 

एएफपी


Author

थप समाचार
x