विश्व

माल्दिभ्सलाई चीन नजिक पुर्‍याउने यामिन घरेलु राजनीतिमा फर्किंदै

इकागज |
मंसिर १५, २०७८ बुधबार १४:७ बजे

काठमाडौँ- माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्लाह यामिन नजरबन्दबाट मुक्त भएका छन् । मल्दिभ्सको सर्वोच्च अदालतले मंगलबार क्लिनचिट दिएसँगै यामिनका लागि घरेलु राजनीतिमा फर्किन ढोका खुलेको छ । यामिनलाई सम्पत्ति शुद्धीकरण सम्बन्धि मुद्दामा क्निलचिट दिइएको हो । 

सन् २०१९ मा यामिनलाई पाँच वर्षको जेल र पचास लाख अमेरिकी डलर बराबरको जरिवाना सुनाइएको थियो । तर कोभिड–१९ महामारीका कारण उनलाई कारागार चलान नगरी घरमै नजरबन्दमा राखिएको थियो । 


अदालतको फैसला आएसँगै यामिन नेता रहेको प्रागेसिभ पार्टी अफ माल्दिभ्सका कार्यकताले माले सहरमा खुशीयाली मनाएका छन् । यामिनको घर अगाडि सयौँ कार्यकर्ता जम्मा भई खुशीयाली मनाएको रोयटर्सको रिपोर्टमा उल्लेख गरिएको छ । 

यो फैसलालाई माल्दिभ्सको राजनीतिमा महत्वका साथ हेरिएको छ । क्लिनचिट पाएसँगै यामिन आगामी राष्ट्रपतीय निर्वाचनमा सहभागी हुने अनुमान गरिएको छ ।

यामिन सन् २०१३ देखि २०१८ सम्म माल्दिभ्सको राष्ट्रपति थिए । उनको नेतृत्वमा माल्दिभ्स चीनसँग नजिक भएको थियो । जसले गर्दा माल्दिभ्स र उसको पारम्पारिक मित्र भारतबीच खटपट सुरु भएको थियो । यामिनले सन् २०१८ को राष्ट्रिपतीय निर्वाचनमा अप्रत्याशित हार बेहोरेका थिए । 


Author

थप समाचार
x