विश्व

भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या बढ्‍दै

इकागज |
मंसिर १९, २०७८ आइतवार १३:३७ बजे

नयाँ दिल्ली - भारतमा गत एक दिनमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्यामा तीव्र वृद्धि भएको छ । शनिबार एकै दिनमा थप  दुई हजार ७९६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको आधिकारिक तथ्यांकले देखाएको छ । विगत केही दिनयता मृत्यु हुनेको सङ्ख्या ४०० को हाराहारीमा रहेको थियो । शनिबार एकैदिनमा दुई हजार ७९६ जनाको मृत्यु भएको यो संख्या बिहारमा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको पूरानो संख्यालाई पनि मिलाइएको जनाइएको छ । 

 यद्यपि हिजो एकै दिनमा केरलामा कोरोना सङ्क्रमणको कारण २६३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।  आइतबार बिहानसम्म मुलुकमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको कूल सङ्ख्या ४ लाख ७३ हजार ३२६ पुगेको छ । देशमा अहिले पनि ९९ हजार १५५ सक्रिय कोभिड–१९ सङ्क्रमित रहेका छन् । यो संख्या कूल सङ्क्रमतिको एक प्रतिशत भन्दा कम भएको समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो संख्या ०.२९ प्रतिशत रहेको जनाइएको छ ।


गएको एक दिनमा ६ हजार ९१८ जना कोरोना मुक्त भएका छन् ।  हालसम्म ३ करोड ४०  लाख ६० हजार ७७४ जना कोरोना निको भएका छन् । कोरोना मुक्ती यो दर ९८.३५ रहेको समाचारमा जनाइएको छ । यसैबीच, पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८९५ नयाँ सङ्क्रमित थपिएसँगै आइतबार देशमा कोभिड–१९ सङ्क्रमितको संख्या ३ करोड ४६ लाख ३३ हजार २५५ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले देखाएको छ । 

भारत शनिबार एकै दिनमा १२ लाख २६ हजार ६४ जनाको कोरोना परिक्षण गरिएको थियो ।  यसैसँगै कोरोना शुरु भएदेखि हालसम्म ६४ करोड ७२ लाख ५२ हजार ८५० जना कोरोना परिक्षण गरिएको जनाइएको छ । भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ३८ करोड ९५ लाख ३८ हजार ३० डोज खोप लगाइएको छ । 


Author

थप समाचार
x