विश्व

३६ करोड ५० लाख गाडी गुड्छन् चीनमा

अजय अलौकिक |
कात्तिक ५, २०७७ बुधबार १६:३५ बजे

चीनमा हुन्डाई गाडी निर्माण गर्दै मजदूर । तस्बिरः द कोरिया हेराल्ड

बेइजिङ : हाल चीनमा सवारी साधनको कुल संख्या ३६ करोड ५० लाख पुगेको छ । यस वर्षको तेस्रो त्रैमासिकमा मात्र ९० लाख ३० हजार सवारी साधन थपिएका छन् । तथ्यांक अनुसार, पहिलो त्रैमासिकमा ५७ लाख ७० हजार सवारी साधन, दोस्रो त्रैमासिकमा ८३ लाख ६० हजार र तेस्रो त्रैमासिकमा ९० लाख ३० हजार सवारी साधन थपिएका थिए । योसँगै चीन भरि सन् २०२० को सेप्टेम्बरसम्म सवारी साधनको कुल संख्या ३६ करोड ५० लाख पुगेको छ । 

चीनको सार्वजनिक सुरक्षा मन्त्रालयका अनुसार, ३६ करोड ५० लाख सवारी साधनमध्ये २७ करोड ५० लाख कार मात्र रहेका छन् । साथै चीनभरि ४५ करोड जनाले सवारी चालक अनुमती पत्र प्राप्त गरेका छन् । यसै गरी चीनमा कार चालकहरू मात्रै ४१ करोड छन् । पछिल्लो त्रैमासिकमा मात्र १ करोड २२ हजारले सवारी चालक अनुमती पत्र लिएको पनि मन्त्रालयले जनाएको छ । 


यसका साथै ६९ वटा चिनियाँ शहरहरूमा १० लाख, १२ वटा शहरहरूमा ३० लाख र बेइजिङ शहरमा सबैभन्दा धेरै ६० लाख सवारी साधनहरू दर्ता भएका छन् ।

सन् २०१९ को जुनको अन्तसम्ममा ३४ करोड सवारी साधन र यस वर्षको जुनको अन्तसम्ममा चीनसँग ३६ करोड सवारी साधन रहेको तथ्याङ्कले देखाउँछ । हाल यो संख्यामा वृध्दि भएर संख्या ३६ करोड ५० लाख पुगेको छ । 

चीन विश्‍वको सबैभन्दा ठूलो मोटर बजार पनि हो । यस वर्ष फैलिएको कोभिड-१९ को कारण पहिलो त्रैमासिकमा गिरावट आए तापनि तेस्रोसम्म आइपुग्दा चिनियाँ मोटर बजारको विस्तार तिव्र रूपमा भएको छ ।


Author

थप समाचार
x