विश्व

‘विश्‍वकै शक्तिशाली’ : हात्ती कि गधा ?

मतदान, मतगणना, चयन र शपथ प्रक्रियासहित

चन्द्रशेखर अधिकारी |
कात्तिक १७, २०७७ सोमबार १९:५४ बजे

काठमाडौँ : अंग्रेजी पात्रोअनुसार नोभेम्बर महिनाको पहिलो मंगलबार हो, भोलि । अमेरिकीहरूका लागि निकै महत्वपूर्ण दिन । चार वर्षमा नोभेम्बरको पहिलो मंगलबार अमेरिकामा राष्ट्रपति निर्वाचनको बुथ राखिने र मतदानको मैजारो गर्ने गरिन्छ । यसपटकको मंगलबार नोभेम्बर ३ मा परेको छ । त्यही नोभेम्बर तीनमा ‘विश्‍वकै शक्तिशाली व्यक्ति’ चयन हुँदै छ । अमेरिकी राष्ट्रपतिको मैदानमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जे बाइडन प्रतिस्पर्धामा छन् । दुवै उमेदवारलाई जेष्ठ नागरिकको संज्ञा दिइएको छ । ट्रम्प ७४ वर्ष पुग्‍नै लागे भने बाइडन ७८ वर्षका हुन् । 

उनीहरू को अगाडि भन्‍ने सर्वेक्षण आइरहेका छन् । सर्वेक्षण यसपटक पनि ट्रम्प खुसी हुने खालको छैन । चुनावी मत सर्वेक्षणले बाइडन अगाडि देखिए पनि जीतमा उनी आफैँ पनि ढुक्क देखिएका छैनन् । मत सर्वेक्षणमा २०१६ मा झैँ पछि परेका ट्रम्प पनि उतिबेलाको जस्तो निर्धक्क देखिएका छैनन् । यद्यपि दुवै तर्फकाले आ-आफ्नो जीतको दाबी गरिरहेका छन् । अझै पनि ‘हात्ती’ वा ‘गधा’ कसले बाजी मार्ने भन्‍न सकिने अवस्था छैन । रिपब्लिकनको हात्ती हो भने डेमोक्र्याटहरूको चुनाव चिन्ह गधा हो । 


यो नै भारी हुन्छ भनेर यसै भन्‍न सकिने अवस्था छैन । अमेरिका आफैँमा निकै नै भेग मुलुक हो । त्यहीँ रहेर समेत यसको नतिजा अनुमान गर्न सकिन्‍न भने तेस्रो विश्‍वमा रहेर कसरी गर्न सकिन्छ र ? हुनत सर्वेक्षणले गधा नै हात्तीलाई भारी हुने देखिएको छ । तर, हात्तीको सम्भावना नभएको भने होइन । सर्वेक्षकहरू सन् २०१६ को जस्तै नराम्ररी चिप्लिने हुन् वा आफूलाई अब्बल प्रस्तुत गर्ने हुन्, हेर्न बाँकी नै छ । अझै पनि सबैको चासोमा अडेको छ एरिजोनाको ११ र पेल्सेल्भेनियाको २० गरी ३१ इलेक्ट्रोरल कलेज अर्थात् निर्वाचन मण्डल मतको । त्यही मतलाई निर्णायकझैँ मानिन थालिएको भए पनि उनीहरूको ब्याटल क्षेत्र मानिएको नर्थ क्यारोलिना र फ्लोरिडासहित अन्य केहीको अवस्था पनि यसै भन्‍न सकिने छैन । 

चार वर्षअघि पनि ट्रम्पले यस्तै सर्वेक्षण व्यहोरेका थिए । त्यति बेला उनले लोकप्रिय मत त पाएनन् तर इलेक्ट्रोरल कलेज मतको आधारमा उनी राष्ट्रपति भए । जनताको चाहना वा एक क्षेत्रमा धेरैले मन पराएर मात्र राष्ट्रपति हुन नपाउने गरी भोटिङको व्यवस्था अमेरिकामा छ । अमेरिकामा रहेको त्यो भोटको व्यवस्थाका कारण मानिस निकै अलमलिने गर्छन् । हुन पनि हिलारी क्लिन्टनसहित राष्ट्रपतिका पाँच जना दाबेदारले लोकप्रिय मत ल्याएर पनि राष्ट्रपति हुन पाएनन् । किनकि अन्ततः चुनिएका इलेक्ट्रोरहरूले दिने इलेक्ट्रोरल कलेज मत नै निर्णायक हुने गर्छ । 

अमेरिकामा ५ सय ३८ इलेक्ट्रोर चुनिन्छन् । उनीहरूले दिने इलेक्ट्रोरल कलेज मतबाटै राष्ट्रपति चयन हुने हुन् । इलेक्ट्रोरलमा जसको बढी मत अर्थात् २ सय ७० हुन्छ, त्यही व्यक्ति राष्ट्रपति हुने हो । राष्ट्रपति भएको दिनदेखि नै चर्चा र विवादमा रहेका ट्रम्प दोस्रो कार्यकालका लागि मैदानमा उत्रिए । उनलाई चुनौती दिँदै डेमोक्रयाटबाट बाइडेन आएका हुन् । उनी बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति थिए । बाइडेनको पोल्टामा इलेक्ट्रोरल मत पुर्‍याउँदै ४६ औँ राष्ट्रपति चयन गर्न उनी अग्रसर भएका छन् । ओबामाको सक्रियता आशालाग्दो देखिएकाले यसपटक सर्वेक्षकहरूलाई राहत मिल्न पनि सक्छ ।

रिपब्लिकनको चुनावी चिह्न हात्ती हो भने डेमोक्र्याटहरूको गधा । अमेरिकामा ५ सय ३८ इलेक्ट्रोर चुनिन्छन् । उनीहरूले दिने इलेक्ट्रोरल कलेज मतबाटै राष्ट्रपति चयन हुने हुन् । इलेक्ट्रोरलमा जसको बढी मत अर्थात् २ सय ७० हुन्छ, त्यही व्यक्ति राष्ट्रपति ।

कोभिड-१९ ले आक्रान्त अमेरिका यति बेला पूरै निर्वाचनमा होमिएको छ । अमेरिकामा कोभिड-१९ (भाइरस) को कारण २ लाख ३१ हजार बढी अमेरिकीको मृत्यु भइसकेको छ । भाइरसको प्रभाव निर्वाचनमा नपरेको पनि होइन । यसपटक अमेरिकी जनताले ‘अर्ली भोट’ गर्न पाए । निर्वाचनको दिन मतदान केन्द्र पुगेर गर्ने भोट यसपटक घरमा बसेर नै दिएका छन् । उनीहरूले इमेल र हुलाकबाट मतदान गरेका छन । यसअघि पनि प्रविधिको उपयोग गरेर निर्वाचन नभएका होइनन् । अहिले बढी नै यसमा डिपेन्डेन्ट भएका छन् । 

अघिल्लो राष्ट्रपतीय निर्वाचनमा ‘अर्ली भोट’मा झरेको भन्दा बढी मत अहिले नै झरिसकेको छ । यो संख्या बढ्ने स्पष्ट छ । ‘अर्ली भोट’ नै सात करोड बराबरले गरिसकेका छन् । विश्वभरबाट चियाउने र शक्ति मुलुकको निर्वाचत भएकै कारण सबैको आँखा त्यसतर्फ छ । खासगरी अहिलेको विश्लेषण ट्रम्प रसियातिर फर्केका छन् भने बाइडनले चिनियाँसँग पछि सम्बन्ध बनाउन सक्ने भन्‍नेछ । यो विषयले पनि विश्‍वको ध्यान खिचेको छ । अमेरिका चीनको व्यापार द्वन्द्व र ट्रम्पको बोली अमेरिकी जनताले कसरी लिएका छन् भन्‍ने पनि हो । 

यति हुँदाहुँदै पनि तेस्रो विश्‍वका अधिकतम व्यक्तिहरूलाई निर्वाचनको प्रक्रिया के हो भन्‍ने अलमलमा छन् । कतिपयले यहाँ हामीलाई प्रश्‍न नै गरेकाले पनि यसबारे स्पष्ट पार्न खोजिएको हो । अमेरिकामा मतदान गर्ने अन्तिम दिन नोभेम्बर ३ आइपुग्‍नुभन्दा नौ दिन अगावै ट्रम्पले नयाँ बसाइ सरेको मियामी पुगेर ‘अर्ली भोटिङ’ गरेका छन् । जीवनभर उपस्थित भएर भोट गरेका ट्रम्पले पहिलोपटक अर्ली भोटिङ गर्नुको कारण अमेरिकाका जनताले खोजिरहेका छन् । अनि उनीहरू भन्दै छन्, ‘ट्रम्प २०१६ को जस्ता देखिन छोडेका छन् । उनीमा धरमर छ ।’ यद्यपि ट्रम्पका विदेश र रक्षामन्त्रीको चालढाल भने निकै कसिलो र उत्साहित नै देखिएको छ । 

के हो अर्ली भोट ?  
हरेक चार वर्षमा हुने अमेरिकी राष्ट्रपति निर्वाचन तिथि तय छ । यो तिथि हो, नोभेम्बर महिनाको पहिलो मंगलबार । कुनै नेतालाई मन नपरेर वा कुनै संकट देखाएर त्यो तिथि सार्न मिल्दैन । जुन कैँयन् मुलुकहरूमा हुने गर्छन् । हामीकोमा त त्यसबारे उदाहरण दिएर साध्य नै लाग्दैन । तर, अमेरिकीहरू तिथि, मिति र समयमा दृढ छन् । तोकिएको दिनमा नै निर्वाचन सक्छन् । निर्वाचनको अन्तिम दिन नोभेम्बरको पहिलो मंगलबार अर्थात् ३ नोभेम्बर हो । नेपालमा जस्तै अमेरिकामा चुनावको दिन मात्र भोट दिने भन्‍ने हुँदैन । मतदानको दिन तोकिनु भनेको निर्वाचनको अन्तिम दिन हो भनेर बुझ्नुपर्छ । त्यो दिन अघि नै अमेरिकामा निर्वाचन सुरु भइसकेको हुन्छन् । अमेरिकाका ५० राज्यमध्ये ३८ मा राज्यमा ‘अर्ली भोट’को सुविधा पहिले नै तय छ । 

कोभिड-१९ का कारण अन्य केही राज्यले पनि त्यो सुविधा दिएका छन । ‘अर्ली भोट’को अर्थ हो- कसैले निर्वाचनको दिन भोट दिन नभ्याउने भए मतदाताले आवेदन दिएर ‘अर्ली भोट’ गर्न सक्छन् । त्यो भोट नागरिकको चाहनाअनुसार इमेल र पोस्ट (हुलाक)मार्फत कसरी दिने हो, त्यो चयन गर्न सकिन्छ । कोरोनाका कारण यसपटक करिब सात करोड मतदाताले ‘अर्ली भोट’का सुविधा लिइसकेका थिए । कतिपय राज्यले त १५ अक्टोबरदेखि नै भोट हाल्ने सुविधा दिएका थिए । अघिल्लो राष्ट्रपतीय निर्वाचनमा पौने ६ करोडले ‘अर्ली भोट’ गरेकामा यसपटक सात करोड पुगेका हुन् । भोलि बिहानसम्म यो संख्या ९ करोड पुग्‍ने अनुमान छ । यसको मुख्य कारक हो, कोभिड-१९ । हुनत अमेरिकामा साढे २५ करोड त भोटर्स नै छन् । त्यसमा ६० प्रतिशत मत खस्दा पनि १५ करोड ३० लाखले भोट गर्नेछन् । 
 
भोटको गणना र चयन 
अमेरिकामा मतदान सकिएलगत्तै भोटको गणना सुरु हुन्छ । हुनत अन्य मुलुकमा पनि त्यसरी नै सुरु हुने हो । अघिल्लो निर्वाचनमा  मतदान सकिएको भोलिपल्ट बिहान नै नतिजा सार्वजनिक भइसकेको थियो । यसपटक भने अहिले फरक ढंगले गणना हुने अमेरिकी सञ्‍चार माध्यमहरू नियाल्दा जानकारी मिल्छ । केही राज्यले पोस्टल ब्यालेटहरू अन्तिम दिनको १० दिनसम्म अर्थात् १३ नोभेम्बरसम्म पठाउन मिल्ने गरी कानुनलाई संशोधन गरेका छन् । यसैले यसपालि निर्णय आउन एक-दुई दिन ढिलो पनि हुन सक्ने अमेरिकी सञ्‍चारमाध्यमहरूले जनाएका छन् ।
 
अमेरिकामा मतदाताले सिधै राष्ट्रपति छान्‍ने चलन छैन । मतदाताले आफ्नो प्रतिनिधि छान्‍ने गर्छन्, जसलाई इलेक्ट्रोर भन्‍ने गरिन्छ । कुन राज्यमा कति इलेक्ट्रोर हुन्छ, त्यो राज्यको जनसंख्याले निर्धारण गर्छ । क्यालिफोर्नियामा मात्र सबैभन्दा बढी ५५ इलेक्ट्रोर छन् । अमेरिकाको ५० राज्यमा कुल मिलाएर ५ सय ३८ इलेक्ट्रोर छन्, जसले आफ्नो क्षेत्रका मतदाताको प्रतिनिधित्व गर्ने गर्छन् । यही इलेक्ट्रोरहरू मिलेर नै उनीहरूले राष्ट्रपति छान्‍ने हो । यद्यपि राष्ट्रपतीय प्रतिनिधिलाई मतदाताहरूले लोकप्रिय भोट पनि दिने गर्छन् । त्यही आधारमा राष्ट्रपति भने चयन हुँदैन । जसले दुई सय ७० इलेक्टोरल कलेज वा निर्वाचन मण्डल मत प्राप्त गर्छ उही राष्ट्रपति हुने हो । अमेरिकाको प्रत्येक राज्यको हकमा निश्‍चित संख्यामा इलेक्ट्रोरल कलेज मत निर्धारण गरिएको हुन्छ । त्यो त्यहाँको कानुन र केही हदसम्म राज्यहरूको जनसंख्याका आधारमा तय हुने गर्छ । 

त्यो मत भनेको राष्ट्रपतिको लोकप्रियता चयनका लागि मात्र हुन्छ । त्यसबाट मात्र निर्वाचित हुन सकिँदैन । यसको अर्थ उनीहरूले आफूलाई मन पर्ने नेता छान्‍नु हो । जुन राज्यमा, जसले लोकप्रिय मत पाउँछन्, उसैले सबै इलेक्ट्रोर सिट जित्‍ने गर्छ । तर, केही राज्यमा यस्तो अवस्था छैन । ती राज्यमा छुट्टै इलेक्ट्रोर हुने हुनाले यसले धेरैलाई अलमल पारेको हो । गत चुनावमा लोकप्रिय मत हिलारी क्लिन्टनले जिते पनि इलेक्ट्रोरल कलेज भोटमा ट्रम्पसँग  पराजित भएकी थिइनँ । अमेरिकी इतिहासमा पाँच पल्ट यस्तो घटना भएको छ । लोकप्रिय मत पाएर पनि इलेक्ट्रोरमा पराजित हुने । 

मतदानको एक सातापछि 
नोभेम्बर तीनमा सकिएको लोकप्रिय मतको विश्लेषण हुँदा नै सबैलाई लगभग राष्ट्रपति को भन्‍ने थाहा भइसकेको हुन्छ । अमेरिकामा अब को राष्ट्रपति बन्दैछन् भनेर आँकलन तय हुने गर्छ, सामान्यतया । तर, चुनावी प्रक्रिया त्यतिले पुग्दैन । यसको औपचारिकता पाउन आवश्यक हुन्छ । त्यो औपचारिक प्रक्रिया १० नोभेम्बरमा हुन्छ । भिन्‍न राज्यको भोटिङपछिको अवस्थाले इलेक्ट्रोर चयनको गर्ने प्रक्रिया सुरु हुन्छ । त्यसमा केही विवाद भए पुनः मतगणनासमेत हुन्छ । यसपटक भने कोभिडका कारणले त्यो प्रक्रिया विभिन्‍न दिन सुरु हुँदै छ । 

क्यालिफोर्नियालाई छोडेर सबै राज्यको नतिजा प्रमाणीकरण भइसकेको हुन्छ । अर्थात् ८ डिसेम्बरसम्म इलेक्टोर्सको स्थिति स्पष्ट भइसकेको हुन्छ । अमेरिकाको ५० राज्यको राजधानीमा ५ सय ३८ इलेक्टरले आ-आफ्नो भोट दिनेछन् । केही राज्यका लागि यो औपचारिकतामा मात्र सीमित हुनेछ । किनभने उनीहरूले आफ्नो इच्छाले अरुलाई भोट हाल्न सक्दैनन् । अमेरिकी संविधान अनुसार इलेक्ट्रोरले लोकप्रिय भोटर्सलाई नै पछ्याउनुपर्ने बाध्यता कतिपयमा छैन तर धेरै राज्यले कानुनी रूपमा यस्तो गर्नु जरुरी छ । ‘जुन राज्यमा पहिलेदेखि कानुन लागू छ, त्यहाँ इलेक्टोर्सले लोकप्रिय भोटलाई पछ्याउनुपर्ने छ । अर्थात्, जसलाई जनताले छनोट गर्छन्, उसैलाई मत दिनुपर्नेछ,’ गत जुलाइमा अमेरिकाको सर्वोच्च अदालतले स्पष्ट पारेको थियो । मतको आधार तय भए पनि त्यस्तो स्पष्ट हुने समान अवस्था अझै छैन । मूल कानुन र फरक फरक राज्यको कानुनले गर्दा त्यो व्यवस्थामा फरकपन आएको हो । 

यसरी चयन भएको मत ६ जनवरी २०२१ सम्ममा वासिङ्टन पुग्छ । औपचारिकताका लागि नै सही उप-राष्ट्रपतिको अगाडि कांग्रेसमै उक्त मतको गणना हुन्छ । त्यसपछि औपचारिक रूपमा नयाँ राष्ट्रपतिको घोषणा हुनेछ । यदाकदा इलेक्ट्रोरले मतदाताको इच्छा विपरीत भोट दिने चलन रहँदा पपुलर मत पाएका उमेदवार पनि इलेक्ट्रोरल कलेजको भोटमा नपरेर उक्त सर्वोच्च पदमा पुग्‍नबाट चुक्नुपर्छ । धेरै राज्यले कानुन पास गरिसकेको अवस्थामा यस्तो गर्नु त्यति सम्भव नहोला तर पनि अझै केही स्थान त्यस्तो छ । 

जसरी निर्वाचन तय छ, त्यसै गरी निर्वाचित राष्ट्रपतिले २० जनावरीमा शपथ ग्रहण गर्नेछन् । अमेरिकाको संविधानले नै त्यो तय गरेको उक्त दिन ‘इनोगरेसन-डे’ को नामले परिचित छ । उक्त समारोह वासिङ्टन डीसीस्थित क्यापिटोल हिल भनिने संघीय संसद् भवनबाहिरको विशाल भर्‍याङको स्टेर्यसमा हुनेगर्छ । कार्यक्रमपछि नयाँ राष्ट्रपति आफ्नो चार वर्षे कार्यकालका लागि ह्वाइट हाउसतर्फ लाग्‍नेछन् ।

यही क्षणको पर्खाइमा छन्, अमेरिकीहरू । अहिले त अमेरिकी मात्र होइन, त्यहाँ रहेका गैरआवासीय नेपालीहरू पनि छन् । उनीहरू पनि निर्वाचनमा निकै उत्साहित देखिएका छन् । अधिकांशको जोड बाइडन भए पनि शान्त रूपमा कतिपयले ट्रम्पलाई समर्थन गरेको देखिन्छ । उनीहरूका धारणा पनि पढिएको छ तर सबैले यो वा त्यो जित्छ भने पनि प्रक्रियाबारे जानकारी दिएका छैनन् ।  

झट्ट हेर्दा निर्वाचनमा राष्ट्रपति देखिए पनि मतदाताहरूले कंग्रेस भनिने अमेरिकी संसद्को सदस्यका लागि पनि मतदान गर्छन् । तल्लो सदन ‘हाउस अफ रिप्रिजेटेन्टिभ्स’मा डेमोक्र्याटस्हरूको पहिले नै बहुमत छ र तिनीहरू त्यस्तो बहुमत कायमै राखेर माथिल्लो सदन ‘सिनेट’मा पनि आफ्नो वर्चस्व राख्‍न चाहन्छन् । ४ सय ३५ स्थानका लागि हुने निर्वाचनमा सिनेटको ३३ स्थानका लागि पनि मतदान हुन्छ । यसतर्फ पनि जोडेर यो निर्वाचनलाई नियाल्नुपर्छ । त्यहाँ को पुग्‍ने भन्‍ने ब्यलेटमा तय भइसकेको छ । बाँकीले भोलि मतदान गर्दैछन् । यससँगै शुभकामना पुनः ह्वाइटहाउस पस्‍ने वा नयाँ यात्रा तय गर्ने दुवै जेष्ठ उम्मेदवारलाई ।  


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x