नेशनल पेमेन्ट स्वीच अन्तर्गत 'नेपाल पे क्यू आर'को शुरुवात
काठमाण्डौँ- नेपाल–क्युआर स्ट्यान्डर्ड अनुसारको क्युआर अन्तर आबद्धता कायमगर्ने गरी 'नेपाल पे क्यू आर' केही बैंक वित्तीय संस्थाहरुको सहकार्यमा पूर्णरुपमा सञ्चालनमा आएको छ । उक्त 'नेपाल पे क्यू आर'को औपचारिक थालनीको घोषणा हो। केही बैंक वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकसँगको संयुक्त कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल क्लियरिङ हाउसले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्यान्डर्ड अनुसारको क्युआर अन्तर-आबद्धता कायम गर्ने गरी 'नेपाल पे क्यू आर' सञ्चालनमा ल्याइएको हो । क्यू आर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त 'नेपाल पे क्यू आर' ले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तर-आबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ ।
यसरी अन्तर आबद्धता कायम गर्न सकिने हुँदा उक्त 'नेपाल पे क्यू आर'ले नेपालमा क्यू आर बाट हुने भुक्तानीलाई थप प्रवर्धन र सहज गर्ने अपेक्षा गरिएको छ ।उपस्थित रहेका बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका प्रतिनिधिहरुले 'नेपाल पे क्यू आर'को प्रवर्धन तथा स्वीकार्यता बढाउन आवश्यक कदम चाल्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
हाल सम्म हिमालय बैंक, सानिमा बैंक लगायतका मोबाइल एपबाट क्यू आर स्क्यान गरी कारोबार गर्न सकिने छ । यी सबै गरी कुल १४ लाखभन्दा बढी प्रयोगकर्ता रहेका छन् जसले सोझै यो सेवा प्राप्त गर्न सक्दछन् ।
नेपाल सरकारको राजस्व भुक्तानी समेत क्यू आर बाट गर्न मिल्ने गरी हाल उपलब्ध गराउँदै आएको पेमेन्ट गेटवेमा समेत 'नेपाल पे क्यू आर' थप गरिएको छ, जस अन्तर्गत उक्त क्यू आर स्क्यान गरी मोबाइल बैंकिङ्ग, वालेट, कनेक्ट आइपिएस लगायतबाट सजिलै राजस्व भुक्तानी गर्न सकिने भएको छ ।
नेशनल पेमेन्ट स्वीच अन्तर्गत विभिन्न सेवा तथा उपकरणहरु सञ्चालन गर्न एनसीएचएलले बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरुसँग आवश्यक सहकार्य गर्दै आएको छ । जसका निम्ती ४० बैंक वित्तीय संस्था र ६ भुक्तानी सेवा प्रदायकले सम्झौता पनि गरिसकेका छन् भने अन्य संस्थाहरु पनि आबद्ध हुने क्रममा रहेका छन् र क्रमिक रुपमा सबै बैंक वित्तीय संस्थाहरु सञ्चालनमा आउने क्रममा रहेका छन् ।
कार्यक्रममा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे, एन.आइ.सी. एशिया बैंक लि का चिफ स्टेट्रेजी अफिसर श्री विशाल सिग्देल, कामना सेवा विकास बैंकका प्रमुख बिजनेस अधिकृत घनश्याम ढुङ्गेल, समृद्धि फाइनान्स कम्पनीका चिफ मेनेजर बिनोद राज पौडेल, फोकस वान सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानको उपस्थिति रहेको थियो ।