नेपालमा लोकप्रिय बन्दै निसान म्याग्नाइट
काठमाडौँ - निसान म्याग्नाइट नेपालमा लोकप्रय बन्दै गएको छ । भारतमा उत्पादन हुँदै नेपालसहित अन्य १५ देशमा निर्यात हुने निसान सार्वजनिक भएको छोटो समयमै लोकप्रिय भएको हो । हाल दक्षिण अफ्रिका र इन्डोनेसियाका साथै नेपाल, भुटान, बंगलादेश, श्रीलंका, ब्रुनाई, युगान्डा, केन्या, सेसिल्स, मोजाम्बिक, जाम्बिया, मौरिसस, तान्जानिया र मलावीमा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।
उत्पादन प्रारम्भ गरिएको एक वर्षकै अवधिमा निसानको सबैभन्दा लोकप्रिय मानिने एसयूभी निसान म्याग्नाइट विश्वका १५ देशमा निर्यात हुन थालेको छ। त्यसैगरी एक वर्षकै अवधिमा यसले वृहत सफलता समेत हासिल गरेको छ । तमिलनाडुस्थित निसानको चेन्नाई प्लान्टमा उत्पादन गरिएको निसान म्याग्नाइट सन् २०२० को डिसेम्बरमा भारतमा लन्च गरिएको थियो। त्यसपछि भारतमा मात्र ७८ हजार ग्राहकले यसको बुकिङ गरेका छन् भने ६ हजार ३४४ म्याग्नाइट अन्य देशमा निर्यात गरिएको कम्पनीले जनाएको छ ।
निसान ‘नेक्स्ट’ ट्रान्सफरमेसन अन्तर्गत लन्च गरिएको निसान म्याग्नाइट पहिलो ग्लोबल प्रोडक्ट थियो। यसले व्यवसाय र ग्राहकलाई लक्षित गरी हाई-डिमान्ड प्रोडक्टमा कम्पनीको ध्यान केन्द्रीत गर्ने नीतिलाई भित्र्याएको थियो ।
लन्चिङ पश्चात चेन्नाई प्लान्टबाट ४२ हजार भन्दा बढी म्याग्नाइट उत्पादन भएका छन्। कोभिड प्यान्डेमिक र सेमी कन्डक्टर अभावको समयमा पनि यति धेरै उपलब्धि हासिल गर्नु निसानका लागि महत्वपूर्ण छ । यही उपलब्धिका लागि निसान इन्डिया अपरेसनले कम्पनीको ग्लोबल प्रेसिडेन्ट्स अवार्ड प्राप्त गर्न सफल भएको छ ।
निसान म्याग्नाइटले बीबीसी टप गियर इन्डिया, कार एन्ड बाइक तथा अटोकार इन्डिया लगायतका विभिन्न प्रतिष्ठित पुरस्कार पाइसकेको छ । त्यसैगरी हालै यो ‘द रेस मंकी कार अफ द इयर २०२१’ समेत नामांकित भएको छ ।
रेनो निसान अटोमोटिभ प्रालिका म्यानेजिङ डाइरेक्टर तथा चिफ एक्जिक्युटिभ अफिसर बिजु बलेन्द्रनले भने, ‘लन्च गरेको एक वर्षमै निसान म्याग्नाइट बिक्री हुने देशको संख्या बढ्दै जानु म्याग्नाइट कार र हाम्रो इन्डिया टिम दुवैका लागि ठूलो उपलब्धि हो ।’
निसान मोटर इन्डिया प्रालिले निसान मोटर कम्पनी लिमिटेड, जापानको शतप्रतिशत सहायक कम्पनीको रुपमा कार्य गरिरहेको छ । सन् २००५ मा स्थापना भएको कम्पनीले भारतमा ह्याचब्याक, एसयूभी र सेडान सेगमेन्टका अभिनव र रोमान्चक उत्पादनहरु उपलब्ध गराइरहेको छ । ग्लोबल एलाइन्स पार्टनर रेनोसँगको सहकार्यमा निसानले चेन्नाईमा म्यानुफ्याक्चरिङ प्लान्ट तथा रिसर्च एन्ड डेभलपमेन्ट सेन्टर स्थापना गरेको छ । निसान अन्तर्गत भारतमा दुई ब्रान्ड निसान र ड्याटसन उपलब्ध छन् ।