अदालतमा नियमित सुनुवाई र बहस गर्न भन्दै बारलाई ज्ञापन पत्र बुझाइयाे
काठमाडौँ - अदालतमा नियमित सुनुवाई र बहस नहुँदा सर्वसाधारणहरु समस्यामा परेको भन्दै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले नेपाल बार एसोसिएसनमा ज्ञापन पत्र बुझाएको छ ।
न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार नभएको र इजलास बहिष्कार गर्दा सर्वसाधारणहरु समस्यामा परेको भन्दै अभियानले नियमित इजलास चलाउने वातावरण बनाउन बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझाउँदै अधिवक्ता स्वागत नेपालले बारका आन्दोलनका कारण थुनुवा र बन्दीका मुद्दाहरु प्रभावित भएको बताए । उनले प्रधानन्यायाधीशले गरेका गल्तीको सजाय हुनुपर्ने, न्यायाधीशलाई न्यायलयमा प्रवेशमा रोक लगाउने जस्ता आन्दोलनका कार्यक्रम फिर्ता लिनुपर्ने धारणा राखे । तीन दिनभित्र आफूहरुको माग पुरा नभए गलत कार्यको नेतृत्व गरेका व्यक्तिलाई बारमा नै प्रवेश रोक लगाउने उनले बताए ।
ज्ञापन पत्र बुझ्दै बार अध्यक्ष श्रेष्ठले न्यायपालिकालाई शुद्धिकरण गर्नका लागि आफूहरुको आन्दोलन भएको बताए । उनले न्यायपालिकाको सुधारका लागि प्रधानन्यायाधीश बाधक भएकाले राजीनामा माग गरिएको जानकारी दिए ।
प्र्रधानन्यायाधधीशको राजीनामा माग गर्दै बारले आन्दोलन गरिरहेको छ भने स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले सेतोपट्टी बाधेर बारको आन्दोलनको विरोध गरिरहेका छन् ।