प्रधानन्यायाधीश जबराको दाबी : हमाललाई मन्त्री नबनाउन भनेर मैले नै भनेको थिएँ
काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले गजेन्द्र हमाललाई मन्त्री बनाउन दबाब नदिएको दाबी गरेका छन् । आइतबार नेपाल बार एसोसिएसनका टोलीसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।
‘गजेन्द्र हमालसँग मेरो ससुराली सम्बन्ध २०४१ सम्म थियो । मेरी श्रीमतीको निधन भएपछि अर्को बिहे गरेको हुँ । मैले उनलाई मन्त्री बनाइदिनु भनेर कुनै नेतालाई भनेको छैन । भेटेको छैन । बरु यसबारे मिडियामा समाचार आएपछि गजेन्द्र हमाललाई मन्त्री नबनाइदिनुस् भनेर भनेको हुँ,’ प्रधानन्यायाधीश जबराको भनाइ उद्धृत गर्दै बार महासचिव लीलामणि पौडेलले भने ।
प्रधानन्यायाधीश जबराकै दबाबमा प्रधानमन्त्री शेरबहादुर देउवाले बाँकेका पुराना कांग्रेस नेता गजेन्द्र हमाललाई उद्योग तथा आपूर्ति मन्त्री नियुक्त गरेको चर्चा थियो । हमाललाई मन्त्री बनाएकोमा सरकारको निकै आलोचना भएपछि तीन दिन नपुग्दै उनले पदबाट राजीनामा दिएका थिए । अहिले उद्योग मन्त्रालय मन्त्रीविहीन छ ।