महामारीमा लापरवाही
बजारको भीडभाडले फेरि निम्त्याउँदैछ कोभिड संकट
काठमाडौँ : बिहीबार नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीले फेसबुकमा स्टाटस लेखे,' काठमाडौंको बाटो र बजारतिर हेर्दा हामीले तेस्रो लहरलाई आव्हान गर्न जुलुस निकालेको जस्तो अनुभूति भयो । अहिले तुलनात्मक रुपमा संक्रमितको संख्या घटे पनि संक्रमणदर २० प्रतिशत भन्दा माथि छ । संक्रमण दर ५ प्रतिशतमा आएपछिको अवस्थालाई संक्रमण घटेको संकेत मानिन्छ । तथ्यांकले संक्रमण घटेको छैन भन्ने प्रष्ट पार्दा पार्दै यो मापदण्ड पालना बिनाको भिड डरलाग्दो छ । '
पछिल्लो केही दिनयता कोभिड संक्रमणको संख्या उकालो लाग्दै गएको छ । १२ दिनमा देशभर २८ हजार ६९२ संक्रमित थपिएका छन् । काठमाडौँ उपत्यका लगायत देशभरका विभिन्न जिल्लामा निषेधाज्ञा खुकुलो गरेसँगै मानिसहरूको आवतजावत बढ्दा संक्रमण बढ्न थालेको हो । निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा ५६९३ संक्रमित थपिएका छन् । निषेधाज्ञा खुकुलो हुँदा संक्रमण बढेको हो कि नागरिक बेपरवाहको कारण संक्रमण बढेको हो? एकातिर सरकारको परीक्षणदर कम छ अर्कोतिर मानिसको आवतजावत बढी हुन थालेको छ ।
सार्वजनिक स्थानमा भिडभाड बढेको र सार्वजनिक यातायातमा यात्रुले यात्रा गर्दा सामाजिक दूरी कायम गरेको देखिदैन । बिना मास्क ओहोरदोहोर र बजारमा भिड बढ्न थालेको छ र डा. ज्ञवालीले लेखे जस्तै बाटोमा बढेको भिडभाड र सार्वजनिक स्थानमा देखिएको जुलुसले तेस्रो लहरको कोभिड देखापर्ने संकेत गरेको छ ।
आम नागरिकले जनस्वास्थ्यको मापदण्ड ख्याल नगर्दा पुन: कोभिडले भयावहको रुप लिने जस्तो देखिएको छ । निषेधाज्ञा खुकुलो भएसँगै भाइरस कुन अवस्थामा छ र फैलने क्रम कस्तो छ ? त्यसको अनुगमन पनि हुनुपर्ने विज्ञहरूले बताउन थालेका छन् ।
कोभिड परीक्षण हुन सकेन
कोभिड परीक्षण व्यापक रुपमा नहुँदा र निषेधाज्ञा खोल्न हतार गर्दा संक्रमितको संख्या बढ्न थालेको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. बासुदेव पाण्डे बताउँछन् । कोभिडको हटस्पट बनेको क्षेत्रमा परीक्षण दायरा बढाएर संक्रमित पहिचान गरी शिलबन्दी गर्नुपर्ने उनले बताए ।
'पहिलो लहरको कोभिड देखिएको सममयमा व्यापक रुपमा परीक्षण गरिएको थियो,' डा. पाण्डेले भने, 'पहिलो भन्दा दोस्रो लहरमा कोभिडको जोखिम बढी रहेकोले पनि व्यापक रुपमा परीक्षण गरिनुपर्थ्यो तर त्यस्तो नभएकाले कोभिड तीव्र रुपमा फैलने त्रास बढ्दै गएको हो ।'
बिना निष्कर्ष निषेधाज्ञा खोलेको प्रति डा. पाण्डेले आपत्ति जनाएका छन् । निषेधाज्ञा खुकुलो पार्नका लागि संक्रमणको दर घट्दै गएको भए त्यसले अझ बढी सार्थकता पाउने उनको भनाइ छ ।
सार्वजनिक यातायात, खुला स्थान र बजारमा मानिसहरूको भिडभाड बढ्न थालेको कोभिडको झन संक्रमण बढेको उनले दाबी गरे । उनले महामारीको नियन्त्रणका लागि नागरिकलाई आफैँ सचेत हुन सुझाव दिए । नियन्त्रणको उपाय भनेको अधिक मात्रामा नागरिकलाई खोप लगाउनुपर्ने पाण्डेले बताए । लक्षित वर्गका उमेर समूहका मानिसलाई खोप लगाउनुपर्ने उनले प्रस्ट पारे ।
खोपले नागरिकलाई सुरक्षित राख्न सकिन्छ
सामाजिक दूरी कायम र जनस्वास्थ्यको मापदण्ड पालना गर्न नगरेकाले पनि संक्रमण दर बढ्न थालेको इपिडिमियोलोजिष्ट डा. अर्चना श्रेष्ठ बताउँछिन् । केही दिन यता बढेको संक्रमणदरले पनि कोभिडको पुनः पहिले जस्तै फैलने त्रास आम मानिसलाई सताउन थालेको उनले बताइन् ।
पिकमा पुगेर कोभिड ओरालो लागेकाले पनि तत्कालै संक्रमणले भयावहको रुप नलिने श्रेष्ठले बताइन् । यहीँ अनुसार संक्रमण बढ्ने हो भने कात्तिकमा मात्र कोभिड उच्च विन्दूमा पुग्ने उनले दाबी गरिन् । कोभिडविरूद्धको खोप लगाएमा नियन्त्रणमा केही सहयोग गर्ने उनले प्रस्ट पारिन् ।
उनले अधिकतम मात्रामा खोप लगाउने सकेमा मात्र आम नागरिकलाई सुरक्षित राख्न सकिने तर्क गरिन् । कोभिडको दोस्रो लहर देखिएको समयमा अल्ट्रा भेरियन्टको परिवर्तित स्वरुप देखिएकाले कोभिडको जोखिम नटरेको उनको भनाइ छ । संक्रमण दर बढन नदिनलाई आम नागरिक जिम्मेवार बन्नुपर्ने उनको ठहर छ ।
समय-समयमा भेरियन्टको परीक्षण गर्नुपर्छ
संक्रमितको अनुगमन गरी सम्भावित संक्रमण क्षेत्रको अनुगमन गर्नुपर्ने भाइरोलोजिष्ट डा. सुदीप खडका बताउँछन् । संक्रमणदर ५ प्रतिशत भन्दा माथि हुँदा कतातिर संक्रमण फैलिरहेको हुन्छ त्यसको भेउ नपाइने उनले बताए । संक्रमणदरको अवस्था कस्तो छ त्यसको समय-समयमा अनुगमन गर्नुपर्ने र परीक्षण गर्नुपर्ने उनको भनाइ छ ।
निषेधाज्ञा खुकुलो भइसकेको अवस्थामा सामाजिक दूरी र जनस्वास्थ्यको मापदण्ड नअपनाएमा संक्रमणको चेन ब्रेक गर्ने अर्को उपाय नभएको डा. खड्काले तर्क गरे । 'स्मार्ट लकडाउन भनेर विपरीत काम गर्नुहुदैन,' उनी भन्छन्,'कार्यालयमा र सार्वजनिक स्थानमा भिड कम गर्ने तथा समयावधि थपेर भिडभाड कम गर्नेतिर लाग्नुपर्छ । महामारीको समयमा अनलाइन सेवा प्रभावकारी हुन्छ ।'
सबै नागरिकलाई खोपको सुनिश्चितता गर्नलाई डा. खडकाले सुझाव दिए । समय-समयमा भेरियन्टको परीक्षण गरी संक्रमितको संख्या वृद्धि भएको स्थानमा लकडाउन गरिनुपर्ने उनको भनाइ छ । 'स्वास्थ्य सेवाको बिस्तार तथा औषधि,उपकरण र अक्सिजन जस्ता महत्त्वपूर्ण सामग्रीको समयमा जोहो गर्नुपर्छ,' उनले भने ।
कोभिडको संख्यामा मात्र घट्यो, जोखिम बाँकी नै छ
पछिल्लो समय संक्रमणदर घटे पनि उपत्यका लगायत देशभर कोभिडको जोखिम नटरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल बताउँछन् । सधैँभरि निषेधाज्ञा गरेर पनि नहुने भएकाले जनस्वास्थ्यको मापदण्ड पालना गराउँदै जनजीवन सहज बनाउनुपर्ने उनको भनाइ छ ।
निषेधाज्ञा खुकुलो भएकाले कोभिड नियन्त्रण गर्ने नागरिकको हातमा आएको डा. पौडेलले बताए । महामारी नियन्त्रण गर्न सरकार जति जिम्मेवार हुन्छ त्यति नागरिक पनि जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ । नागरिकको जनजीवन सहज बनाउनका लागि भए पनि निषेधज्ञा खुकुलो बनाउनुपर्ने बाध्यता आइपरेको उनले प्रस्ट पारे ।
लक्षित समूह र संक्रमण फैलिएका ठाउँमा परीक्षण दायर बढाइको डा. पौडेलको दाबी छ । परीक्षणसँगै खोप लगाउने कार्यलाई पनि निरन्तरता दिइरहेको उनको भनाइ छ । खोप लगाउने कार्यक्रमलाई पनि निरन्तरता दिइरहेको उनले जानकारी दिए । कोभिड नियन्त्रण गर्न खोपलाई पहिलो प्राथमिकतामा राखिएको उनको भनाइ छ । खरिद गरिएको खोप लक्षित समूह तथा उमेर समूहको वर्गीकरण गरेर खोप लगाइने उनले बताए ।