कूटनीति

अमेरिकी घटनामा नेपाल मौन

इकागज | पुस २४, २०७७

काठमाडौँ : विश्वका सबैजसो मुलुक र नेतृत्वले बुधबार अमेरिकी संसद्‌ भवनभित्र भएको घटनाको भर्त्सना गर्दै लोकतन्त्रमाथि आक्रमण भने पनि नेपाल मौन बस्‍नुलाई अमेरिकी नेतृत्वले गम्भीरतापूर्वक लिएको छ । डोनाल्ड ट्रम्पका समर्थकहरूले संसद्‌ क्यापिटाेल हिलमा हिंसात्मक हमला गरेपछिको अवस्था निकै डरलाग्दो थियो । अमेरिकी संसद्‌मा यो घटनालाई कालो दिनको रुपमा हेरिएको मात्र होइन लोकतन्त्रमाथिको खुल्ला आक्रमण भनिएको छ ।

आफ्‍नो पक्षमा मतपरिणाम नआएपछि आगामी दुई सातापछि सत्ता छाड्‍नुभन्दा केही गर्न सकिन्‍छ कि भन्‍ने ध्येयले भएको प्रयासलाई विश्वमा नेताहरूले विरोध गरे । फ्रान्स, बेलायत, क्यानडाले मात्र होइन अमेरिकाको कडा आलोचक मानिएको चीन, भेनेजुयला र इरानले समेत भर्त्सना गरेको छ ।  उक्त घटनाबारेमा भारतले पनि सोही अनुरुपको भर्त्सना गर्दा नेपाल मौन बस्‍नु आश्‍चर्यजनक छ ।

नेपाल मौन बसेको भन्दै अमेरिकीहरुले यसलाई गम्भीरतापूर्वक लिएका हुन् । यस्तै कुराले कूटनीतिमा मुलुक चुक्‍ने हो भन्दै परराष्ट्रका एक सहसचिवले भने, ‘हाम्रो भगवान भरोसे कूटनीति हो । मन्त्रालयले आफ्‍नो तवरसँग काम गर्न पाउँदैन । अख्तियारी पर्खनुपर्छ ।’ बेलुका अबेरसम्म कुनै राजनीतिक नेतृत्वले यसबारेमा बोलेनन् यसलाई कतिपयले आन्तरिक घटना भनेको पनि ति अधिकारीले बताए । मुलुकभित्र घट्‌ने सबै घटना आन्तरिक नै हुन तर त्यसको उद्देश्य र सारमा बोल्न चुक्न हुँदैन भन्‍ने सुझाव दिइएको भए पनि वास्ता नभएको एक अधिकारीले सुनाए ।   

विश्वमा कही कतै साना घटना हुँदा पनि विज्ञप्ति जारी गर्ने परराष्ट्र मन्त्रालय यतिबेला किन मौन बस्यो ? यो विषयमा धेरैको जिज्ञसा छ । प्रायः भारत र चीनको प्रतिक्रिया पर्खेर आफ्‍नो धारणा राख्‍ने नेपाल यतिबेला त्यसमा समेत चुकेको छ । वर्तमान नेतृत्वको शैली के हो र के गर्न लागेको भन्‍नेमा अमेरिका पनि अचम्मित रहेको ति कूटनीतिज्ञले बताए । एक पूर्व राजदूतले पनि नेपाल यस्तो विषयमा बोल्न चुक्न नहुने बताए । 

अमेरिकीको सदनका विपक्षीहरूले ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन आग्रह गरेका छन् । सभामुख न्यान्सी पेलोसीले ट्रम्पलाई जिम्मेवारीबाट नहटाइए उनीमाथि महाअभियोग लगाउन सकिने चेतावनी दिएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । स्वभाविक रुपमा रहेर १२ दिनपछि विदा हुने अवस्थामा उनले आफूलाई महाअभियोगको कार्यमा उद्धत गरेको डेमोक्र्याटिक सिनेटर चक सुमरले बताएको अन्तराष्ट्रिय सञ्चार माध्यममा उल्‍लेख छ, ‘लोकतन्त्रमाथि भद्दा मजाक गर्ने र सम्मानित सदनलाई यो अवस्थामा ल्याउने यस्ता व्यक्तिलाई एक दिन पनि राख्‍न हुँदैन तत्काल हटाउनुपर्छ ।’

ट्रम्पलाई राष्ट्रपतिबाट हटाउन उनकै पार्टी रिपब्लिकनहरूको समर्थन अझै आवश्यक हुनाले पनि त्यो सहज भने छैन । केही रिपब्लिकनले उनलाई तत्काल हटाउनुपर्ने माग गरिरहेका छन् । हिजो भएको झडपमा परेर चार जनाको निधन भएको छ । त्यसमा संलग्‍न ६८ जना पक्राउ परेका छन् । उनीहरु ट्रम्प समर्थक रहेको खुलेको छ ।

‘यदि ब्ल्याक लाइभ्स म्याटरका प्रदर्शनकारी थिए भने क्यापिटोल हिलमा हिजो हुलदंगा गर्नेहरूलाई भन्दा अलग व्यवहार गरिदैँन थियो भनेर मलाई कसैले भन्‍नसक्ने छैनन्,’ राष्ट्रपति निर्वाचित जो बाइडनले भनेका छन् । त्यस्तै डिसीका प्रहरीका प्रमुखले त्यो घटनाबारे आकंलन नगरी चुकेको भन्दै राजीनामा माग भएको छ । प्रहरी प्रमुखले चाहिँ आफ्ना अधिकारीहरूले अपराधिक र दङ्गायुक्त व्यवहारको सामाना गरेको र अधिकारीहरूको कार्य नायकले गर्नेजस्तै भएको बताए ।

यद्यपि सभामुख पेलोसीले चाहिँ उनलाई राजीनामा गर्न आह्वान गरेकी छन् । ट्रम्पको मन्त्रिमण्डललाई अमेरिकी संविधानको २५औँ संशोधनलाई प्रयोग गरेर राष्ट्रपतिलाई हटाउन पर्ने माग अमेरिकामा बढेको छ । उक्त संशोधनले मानसिक र शारीरिक समस्याका कारण काम गर्न नसक्ने अवस्थामा राष्ट्रपतिलाई हटाएर उपराष्ट्रपतिले कार्यभार सम्हाल्न सक्छन् । त्यही विषय त्यहाँ उठेको छ ।

हाउस अफ रेप्रिजेन्टेटिभ्सको सुरक्षामा जिम्मेवार सुरक्षा प्रमुखले पहिले नै राजीनामा दिएका छन् । यूएस क्यापिटल प्रहरीका प्रमुखले आपराधिक र दङ्गायुक्त व्यवहारको सामाना गरेर सम्भावित थप खतरालाई टारेको बताएका थिए । घटनापछि ट्रम्प प्रशासनका कैयौँ अधिकारीहरूले पनि राजीनामा दिएका छन् । राजीनामा दिनेमा यातायातमन्त्री एलेन चाओ अन्तिम उच्च अधिकारी भएकी छन् ।

देश-महादेश हुँदै दुनियाँ आँक्‍ने र हाँक्‍नेहरू !

अंग्रेजी पात्रोअनुसारको नयाँ वर्षले हरेक चार वर्षमा विश्व राजनीतिमा नयाँ बहस ल्याउँछ । बहसको केन्द्रमा हु...

नेपालमा पश्चिमा शक्ति हावी हुन सक्‍ने चीनको चिन्ता

काठमाडौँ : प्रतिनिधि सभा विघटनपछि उत्पन्न अवस्था मूल्यांकन गरी सत्तारुढ नेकपालाई एक गर्ने कार्यादेशस...