नेपाल र भारतको एक/एक गरी दैनिक दुई उडान प्रस्ताव
काठमाडौंः कोभिड-१९ महामारी नियन्त्रणका लागि गत चैत महिनादेखि बन्द गरिएका अन्तर्राष्ट्रिय उडान जोखिम कम भएका देशहरुसँग सुचारु भैसकेको छ । छिमेकी भारतमा कोभिड-१९ संक्रमितहरुको संख्या बढीरहेकाले उडान खोल्न ढिला भएको थियो । यद्यपि भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको गत साताको भ्रमण अघि नै नेपालले दुई मुलुकबीच हवाई सम्पर्क सुचारु गर्ने घोषणा गरिसकेको छ ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयमार्फत् त्यहाँको नागरिक उड्ययन मन्त्रालयलाई दुवै देशबाट दैनिक एक-एक उडान गरी नेपाल-भारत दैनिक दुई उडानको प्रबन्ध गर्न प्रस्ताव गरेको छ । नेपालको राष्ट्रिय ध्वजाबहाक नेपाल वायु सेवा निगमले भारतको नयाँ दिल्ली, मुम्बई, बैंग्लोर लगायतका सहरमा उडान गर्दै आएको छ । प्रस्ताव अनुसार जुनसुकै सहरमा उडान गरे पनि नेपालले भारततर्फ दिनमा एउटा उडान गर्नेछ भने भारत सरकारले तोकेको विमान सेवा कम्पनीले काठमाडौंतर्फ दैनिक एउटा उडान गर्नेछ ।
भारतको राष्ट्रिय ध्वजाबहाक एयर इण्डियाबाहेक अन्य निजी विमान सेवा कम्पनीले पनि काठमाडौंमा उडान भर्दै आएका छन् । यद्यपि उडान सुचारु हुँदा तोकिएको विमान सेवा कम्पनीले मात्र काठमाडौं उडान गर्नेछ । नेपालको प्रस्तावमा भारत सरकार सहमत भएको खण्डमा छिट्टै उडान सुचारु हुने भारतस्थित नेपाली दूतावासले उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय उडानमा कोभिड-१९ नियन्त्रणको विश्वव्यापी मापदण्ड दुवै देशले अनुसरण गर्नेछन् । अन्तर्राष्ट्रिय उडानका लागि यात्रुको उडान हुनु निकट समय अघिको पीसीआर (पोलिमरेज चेन रियाक्सन) परिक्षण रिपोर्ट पेश गर्नुपर्नेछ ।
अन्तर्राष्ट्रिय उडान बन्द भएपनि सीमा नाकाबाट भने भारततर्फ आवतजावत भैरहेको छ ।