सबैभन्दा कम विद्युत् चुहावट बागमती प्रदेशमा
काठमाडौँ - विद्युत् प्राधिकरणको ग्राहक संख्या र वार्षिक आम्दानीको हिसाबले सबैभन्दा अग्रस्थानमा रहेको बागमती प्रदेशमा चुहावट पनि अन्य प्रदेशको तुलनामा न्यून पाइएको छ । आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा बागमती प्रदेशको विद्युत् चुहावट ६.७७ प्रतिशत रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ । यो चुहावट अन्य प्रदेशको तुलनामा सबैभन्दा कम हो ।
कूल २० वटा वितरण केन्द्र रहेको बागमती प्रदेशमा सबैभन्दा कम चुहावट रत्नपार्क वितरण केन्द्रमा रहेको छ । गत वर्षको तथ्यांकअनुसार रत्नपार्कमा विद्युत् चुहावट २.५३ प्रतिशत मात्र छ । अघिल्लो वर्ष रत्नपार्कको चुहावट २.५८ प्रतिशत थियो । यो प्राविधिक चुहावट मात्र हो ।
त्यसैगरी बानेश्वर वितरण केन्द्रको चुहावट पनि गत वर्ष ३.३७ प्रतिशत रह्यो । अघिल्लो वर्षभन्दा बानेश्वरले ०.४६ प्रतिशतले चुहावट घटाउन सफल रह्यो । अघिल्लो वर्षको तुलनामा गत वर्ष रत्नपार्क र बानेश्वरबाहेक बागमती प्रदेशका अन्य वितरण केन्द्रमा चुहावट वृद्धि भएको देखिन्छ ।
बागमती प्रदेशमा बिजुली बेचेबापत उठेको कूल रकमको १८.०२ प्रतिशत रत्नपार्कले र १४.७९ प्रतिशत बानेश्वर वितरण केन्द्रले उठाउँछन् । प्राधिकरणको बागमती प्रदेशले गत वर्ष १८ अर्ब ५५ करोड रुपैयाँ महसुल संकलन गरेका थियो । यो रकम प्राधिकरणको कूल आम्दानीको २६.१३ प्रतिशत हो । त्यसैगरी कुलेश्वर वितरण केन्द्रमा अघिल्लो वर्ष (२०७६/७७) ३.७६ प्रतिशत चुहावट थियो । गत वर्ष भने यस्तो चुहावट ७.६१ प्रतिशत पुग्यो ।
महाराजगञ्ज वितरण केन्द्रले भने गत वर्ष ०.०३ प्रतिशतले चुहावट घटाउन सफल रह्यो । अघिल्लो वर्ष ४.४५ प्रतिशत चुहावट रहेकोमा गत वर्ष महाराजगञ्जको चुहावट ४.४२ प्रतिशतमा सीमित हुन पुग्यो ।
यता कीर्तिपुर वितरण केन्द्रले पनि गत वर्ष चुहावट वृद्धि गरेको छ । अघिल्लो वर्ष २.६२ प्रतिशत चुहावट रहेको कीर्तिपुरमा गत वर्ष ७.७७ प्रतिशत कायम गर्न पुग्यो । कीर्तिपुरले गत वर्ष ३८ हजार ७ सय ५२ मेगावाट घण्टा (तीन करोड ८७ लाख युनिट) बिजुली ग्राहकलाई बेचेको थियो ।
बिक्री गरेको बिजुलीलाई आधार मानेर चुहावटको घाटा हेर्ने हो भने प्राधिकरणलाई गत वर्ष ३ करोड २८ लाख रुपैयाँ नोक्सान प¥यो । प्राधिकरणको औसत बिक्री मूल्य प्रतियुनिट १०.९२ रुपैयाँ छ । ७.७७ प्रतिशत चुहावट हुँदा ३० लाख युनिट बिजुली ‘गायब’ हुन पुग्यो ।
लगनखेल वितरण केन्द्रले पनि यसपालि चुहावट बढाएको छ । अघिल्लो वर्ष ७.२८ प्रतिशत रहेकोमा गत वर्ष ९.८२ प्रतिशच चुहावट रह्यो । चुहावट नियन्त्रण कार्यक्रम सञ्चालन नगरिएको र मिटर रिडिङ पनि नियमित हुन नसकेका कारण चुहावट बढ्न पुगेको लगनखेल वितरण केन्द्र प्रमुख रामदुलार यादवले बताए ।
संघीय राजधानीनजकै रहेको लगनखेल वितरण केन्द्रले मकवानपुर र काभ्रेको सीमासम्म विद्युत् लाइन विस्तार गरेको छ । यसको वितरण लाइन मात्रै करिब ११ सय किलोमिटर रहेको यादव बताउँछन् । ‘लामो लाइन छ, प्राविधिक चुहावट नै ६, ७ प्रतिशत होला’ यादवले इकागजसँग भने ।
गत वर्ष पनि निषेधाज्ञा, लकडाउन, महामारी लगायतका कारण प्राधिकरणले नियमित रुपमा मिटर रिडिङ गर्न नपाएको अधिकांश वितरण केन्द्र प्रमुखहरु बताउँछन् ।बागमती प्रदेशमा सबैभन्दा बढी चुहावट भने सिन्धुपाल्चोकमा देखिएको छ । अघिल्लो वर्षको तुलनामा सिन्धुमा चुहावट ह्वात्तै बढेको छ । अघिल्लो वर्ष १६.९५ प्रतिशत रहेकोमा गत वर्ष २५.३३ प्रतिशत पुगेको तथ्यांकले देखाउँछ ।
यसरी चुहावट बढ्नुमा वितरण लाइन (एलटी) अत्यधिक लामो हुनु र मिटर रिडिङ गर्न नपाउनु मुख्य रहेको सिन्धुपाल्चोक वितरण केन्द्र प्रमुख सानुबाबु थापा बताउँछन् । उनका अनुसार सिन्धुपाल्चोकमा वितरण लाइनमा मात्र दुई हजार ३ सय ९० किलोमिटर छ । जति धेरै वितरण लाइन लामो हुन्छ, प्राविधिक चुहावट उति नै बढी हुने गर्छ । सिन्धुपाल्चोकको वितरण लाइनको चुहावट मात्रै १५ प्रतिशत रहेको थापा बताउँछन् ।
‘कोभिडले गर्दा मिटररिङ राम्रो गर्न पाइएन, अन्दाजको भरमा गर्नुपर्यो,’ उनले शुक्रबार इकागजसँग भने, ‘पाँच, छ प्रतिशत चोरी पनि छ ।’सिन्धुपाल्चोक सदरमुकाम चौतारामा सवस्टेशन निर्माण भइसकेको र ठेकेदार हस्तान्तरण गर्न मात्र बाँकी रहेकाले यो सञ्चालनमा आएपछि पाँच प्रतिशत चुहावट घट्ने थापाले बताए । उनले वितरण लाइनमा हुकिङ गरी बिजुली चोर्न नपाउने तार फेरिने पनि उल्लेख गरे ।
कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङको पहिलो कार्यकालमा ०.६१ प्रतिशत चुहावट रहेको मेलम्चीमा गत वर्ष २४.६ प्रतिशत पुग्यो । महामारीका बीचमा पनि भक्तपुर वितरण केन्द्रले भने चुहावट घटाउन सफल भएको छ । अघिल्लो वर्ष ७.९५ प्रतिशत रहेकोमा गत वर्ष भक्तपुरले ७.१३ प्रतिशतमा झार्न सफल भयो । यसरी चुहावट घटाउन सफल अन्त वितरण केन्द्रहरुमा धादिङ, नुवाकोट, जोरपाटी, रत्नपार्क, बानेश्वर, महाराजगञ्ज, दोलखा, रामेछाप, भरतपुर, टाँडी छन् ।