किन घट्यो प्राधिकरणको बिजुली उत्पादन ?
काठमाडौँ- गत आव २०७७/७८ मा विद्युत् प्राधिकरणको २१ करोड युनिट बिजुली उत्पादनमा कमी आएको छ । प्राधिकरणको औसत बिक्री मूल्य प्रतियुनिट ९ रुपैयाँ ६३ पैसाका हिसाबले गत वर्ष कम बिजुली उत्पादन भएको कारण मात्र उसलाई दुई अर्ब दुई करोड रुपैयाँ घाटा लाग्न पुग्यो ।
प्राधिकरणको नाफा ६९. ९४ प्रतिशतले कमी आई तीन अर्ब ५१ करोड रुपैयाँ मात्र भयो । जबकि आर्थिक वर्ष २०७६/७७ मा प्राधिकरणको खुद मुनाफा ११ अर्ब ६८ करोड रुपैयाँ थियो । प्राधिकरणले दुई वटा ठूला विद्युत्गृह माथिल्लो त्रिशुली थ्री ए (६० मेगावाट) र चमेलिया (३० मेगावाट) को आवधिक मर्मत वर्षायाममा गरिदिनाले ठूलो परिमाणको बिजुली उत्पादन हुन पाएन ।
प्राधिकरणले खोलामा पानी कम रहेको समय अर्थात् सुख्खायाममा विद्युत्गृह मर्मत गर्दै आएकोमा गत वर्ष वर्षायाममा गर्यो । अझै पनि चमेलियाको एउटा युनिट मर्मत भइरहेको छ भने माथिल्लो त्रिशुली थ्री ए को पनि ठेक्का सम्झौताअनुसार मर्मत गर्ने जिम्मा आगामी २१ सेप्टेम्बरसम्म ठेकेदारकै छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बाढीले मर्स्याङ्दीको एउटा टावर बगाएपछि त्यसलाई मर्मत गर्न १६ दिन लाग्यो ।
प्राधिकरणले यस्तै टावर ढल्दा वा बगाउँदा अर्काे टावर ठड्याउन महिनौं लाग्ने र करोडौं रुपैयाँको बिजुली नाश हुन्छ भनेर १० वटा आकस्मिक टावर (इआरएस) क्यानाडाबाट टेण्डर गरेर आयात गरेको थियो । ‘इआरएस खडा गर्न बढीमा तीन दिन लाग्छ,’ घिसिङले शुक्रबार इकागजसँग भने, ‘त्यो नगरी १६ दिन लगाएर अर्काे टावर खडा गरियो, यसबाट मध्य मर्स्याङ्दीको बिजुली प्रसारण गर्न नपाएर प्राधिकरणलाई दिनको दुई करोड घाटा पर्यो ।’
ती १० वटा इआरसी टावरले ५० करोड रुपैयाँ उठाइसकेको छ । घिसिङले नै आफ्नो पहिलो कार्यकालमा ती टावरको बन्दोबस्त गरी सम्भावित क्षति रोकेका थिए । तर अघिल्ला कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यस्तो टावर राखेर अन्तरिम व्यवस्था गर्नेतिर ध्यान दिन सकेनन् र उनलाई यस्तो सल्लाह अरुले पनि दिएनन् ।
घिसिङका अनुसार अर्काे माथिल्लो त्रिशुली थ्री एको पनि एक महिना पूरा हुने मर्मत तीन महिना लाग्दा बिजुली उत्पादन हुन पाएन । ‘यो आयोजनाबाट दैनिक डेढ करोड रुपैयाँ घाटा पर्यो,’ घिसिङले भने ।
प्राधिकरणले चमेलिया पनि वर्षायामै मर्मत गर्नुपरेका कारण धेरै बिजुली नाश हुन पुग्यो । ‘धेरै बिजुली उत्पादन हुने बेलामा विद्युत्गृह बन्द भएपछि उत्पादन ठप्प त हुने नै भयो,’ उनले भने ।
यता प्राधिकरणको उत्पादन निर्देशनालयका तत्कालीन उपकार्यकारी निर्देशक मदन तिम्सिना इआरसी टावर नराखिएको स्वीकार गर्छन् । उनका अनुसार समय र परिस्थितिले गर्दा वर्षायाममा विद्युत् गृह मर्मत गर्न बाध्य भएको हो ।
प्राधिकरण व्यवस्थापन र भार प्रेषण केन्द्रले विद्युत् गृह बन्द गर्ने अनुमति नदिंदा हिउँदयाममा विद्युत्गृह मर्मत हुन नपाएको तिम्सिनाले बताए । माथिल्लो त्रिशुली थ्री एको हकमा भने ठेकेदारको ‘डिफेक्ट ल्याबलिटी पिरियड’ (तोकिएको अवधिभित्र कुनै गडबडी आएमा ठेकेदारले नै बनाउनुपर्ने अवधि) मा ठेकेदार आफैले र उसले चाहेको समयमा मर्मत गरिदिएकाले वर्षायाम पुगेको तिम्सिना बताउँछन् । ‘माथिल्लो त्रिशुली थ्री एमा धेरै क्षति थियो,’ तिम्सिनाले शुक्रबार इकागजसँग भने, ‘उसकै लागतमा उसले बनाएको हो, हामीले यसो गर उसो गर भन्न मिलेन, हाम्रो जिम्मामा भएको भए धेरै चाँडो मर्मत हुन्थ्यो ।’
ठेकेदार सीजीजीसीले डेढ महिनामा मर्मत गरिसक्नुपर्नेमा तीन महिना लगाइदिएको छ । यसबाट दैनिक डेढ करोड रुपैयाँ प्राधिकरणलाई घाटा पर्न गयो । चमेलियाको एउटा युनिट अझै मर्मत भइरहेको छ । तिम्सिनाले हिउँदयाममा विद्युत्गृह बन्द गर्ने अनुमति नपाएकाले वर्षायाममा पुग्नु परेको बताए । ‘अहिले मर्मत नगरेको भए जे पनि हुन सक्ने अवस्था थियो,’ उनले भने, ‘कोही व्यक्ति बिरामी पर्यो भने तत्काल उपचार नगरे मर्छ भनेजस्तै हो ।’
तिम्सिनाले अर्काे बचाउ पनि गरे । यसपालि हिउँदयाममा वर्षा नभएकाले खोलामा जलस्तरमा निकै कमी आयो । त्यसमाथि गत हिउँदमा ऊर्जाको माग पनि अत्यधिक बढ्यो । अघिल्लो वर्ष २०७६ सालको हिउँदमा २५० प्रतिशत वर्षा (कूल) भएको थियो भने गत हिउँदमा २५ प्रतिशत मात्र वर्षा भएको जल तथा मौसम विज्ञान विभागको तथ्यांक छ ।
यसैको उदाहरण दिँदै तिम्सिना भन्छन्, ‘अघिल्लो वर्ष माथिल्लो त्रिशुली थ्री एले चरम सुख्खायाममा पनि ४५ मेगावाट उत्पादन गरेको थियो, यसपालि ३० देखि ३५ मेगावाट मात्रै भयो ।’