विद्युत् प्राधिकरण निमित्तपछि पुन: निमित्त

इकागज | कात्तिक २४, २०७७

काठमाडौं : ऊर्जा मन्त्रालयले विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्राधिकरणकै १२ औं तहका वरिष्ठ इन्जिनियर हितेन्द्रदेव शाक्यलाई दिएको छ । शाक्यले सोमबारदेखि कार्यभार सुरु गरेका छन् ।

मन्त्रालयले हिजो आइतबार बेलुकी शाक्यलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको पत्र दिएको थियो । ‘हिजो चिठी पाएँ, आजदेखि काम सुरु गरेको छु,’ शाक्यले इकागजसँग भने, ‘मेरो प्रथम दायित्व आसन्न तिहारको विद्युत् वितरणलाई भरपर्दो र विश्वसनीय बनाउनु हो, त्यसपछि अरु विषयमा ध्यान केन्द्रित गर्नेछु ।’

गत भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङ निवृत्त भएपछि सरकारले उनको पुनः नियुक्त गरेन । बरु प्राधिकरणको लेखा समूहका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनायो । प्राधिकरणमा कोइरालाभन्दा शाक्य वरिष्ठ (सिनियर) हुन् । उनी प्राधिकरणकै सहायक कम्पनी एनईए इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकका रुपमा कार्यरत थिए । प्राधिकरणअन्तर्गत रहेको इन्जिनियरिङ (निर्देशनालय सरह) लाई छुट्टै सहायक कम्पनीका रूपमा गठन गरिएपछि शाक्यले त्यसको जिम्मेवारी पाएका थिए ।

प्राधिकरणको कार्यकारी निर्देशकमा नेपाल सरकार (मन्त्रिपरिषद्) ले चाहेको व्यक्तिलाई नियुक्त गर्न सक्ने कानुनी अधिकार छ । प्राधिकरणको ३५ वर्षको इतिहासमा एक निमित्तलाई हटाई अर्को निमित्त दिएको यो पहिलोपटक हो । यसअघिका सरकारले ऊर्जा मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले कार्यकारी निर्देशक नियुक्त गर्थ्यो । 

घिसिङको कार्यकाल सकिनुअघि नै ऊर्जा मन्त्री वर्षमान पुनले उनको पुनः नियुक्तीका लागि गरेको सिफारिसलाई प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेपछि प्राधिकरण निमित्तको भरमा चल्नुपर्ने अवस्थामा पुगेको हो ।

वार्षिक आठ अर्ब रुपैयाँका दरले घाटा खाँदै आएको प्राधिकरणलाई घिसिङले आफ्नो चारवर्षे कार्यकालमा ११ अर्ब रुपैयाँ नाफामा लैजान सफल भएका थिए । उनले २६.३ प्रतिशत रहेको विद्युत् चुहावटलाई १५ प्रतिशतमा झारेका थिए । 

घिसिङले नै २०७३ सालको लक्ष्मीपूजाका दिनदेखि उपत्यकावासीलाई चौबीसै घण्टा बिजुली आपूर्ति गरेर लोडसेडिङ अन्त्य गराएका थिए । उपत्यकाबाट हटेको लोडसेडिङ क्रमशः देशभरबाट घिसिङले नै विस्थापित गरेका थिए ।
 

ढल्केबर-मुजफ्फपुर प्रसारण लाइन ४०० केभीमा चार्जिङ कात्तिक अन्तिम साता

इकागज | कात्तिक ५, २०७७

काठमाडौं : भारतमा पानी परेकाले र बिहारमा विधान सभाको चुनाव आउन लागेका कारण ढल्केबर–मुजफ्फपुर ...