वार्ता

विश्वविद्यालयले विद्यार्थीलाई आवश्यक हार्डस्कील र सफ्टस्कील दुवै दिनुपर्छ

सदिक्षा आचार्य | भदौ ५, २०८०

वि.सं १९८७ देखि सुरु भएको नेपालको इन्जिनियरिङ शिक्षाले नौ दशक पार गरेको छ । प्रविधिमय बन्दै गएको आजको समाजमा इन्जिनियरिङ शिक्षाको विशेष महत्व रहेको छ । यद्दपी यसका आफ्नै सबल र दुर्बल पक्ष छन् । आजको प्रविधिमय समाज, ग्लोबल भिलेजको अवधारणामा नेपालको  इन्जिनियरिङ शिक्षाले के कसरी प्रतिस्पर्धा गर्ने हो भन्ने प्रश्न पनि हुन सक्छ ।

यसैबीच हामीले ई. यमकृष्ण पौडेलसँग यसै सेरोफोरोमा कुराकानी गरेका छौँ । पौडेल नेपाल इन्जिनियरिङ एशोसियसन गण्डकी प्रदेश सदस्य तथा नेपाल इन्जिनियरिङ कलेज, भक्तपुरका इलेक्ट्रिकल इलेक्ट्रोनिक्स विभागका विभागीय प्रमुख र शैक्षिक क्षेत्रसँग सम्बन्धित एक अभियन्ता समेत हुन । नेपालको इन्जिनियरिङ शिक्षा, यसको भविष्य र चुनौतीबारे उनै पौडेलसँग इकागजकर्मी सदिक्षा आचार्यले गरेकाे कुराकानीको सार यहाँ प्रस्तुत गरिएकाे छ ।

इन्जिनियरिङ शिक्षा किन पढ्ने ?

इन्जिनियरिङ पेशा एक उत्कृष्ट प्राविधिक पेशा हो जसले वैज्ञानिक सिद्धान्तहरूलाई व्यवहारिक रूपमा जोडेर आम मानिस र समाजको सहजताको लागि काम गर्छ। नयाँ ज्ञान र सिर्जनाहरूको मिश्रण पनि हुनाले राज्यको भौतिक विकासको मेरुदण्ड पनि हो। उज्ज्वल भविष्य, नाम, दाम र प्रतिष्ठा सबै भएको हुँदा पेशा पनि हो।

नेपालमा इन्जिनियरिङ शिक्षा कस्तो छ ?

नेपालको इन्जिनियरिङ शिक्षा समग्रमा राम्रो छ। यहाँ उत्पादित इन्जिनियरहरू विश्वबजारमा अब्बल साबित भएको छन् । नेपालबाट स्नातक गरेर गएका हाम्रा विद्यार्थीहरूले विश्वका प्रतिष्ठित विश्वविद्यालय हार्वड, अक्सफोर्ड, क्याम्ब्रिज, स्टानफोर्ड जस्ता विश्वविद्यालयहरूमा पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।

अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान लगायतका विश्वविद्यालयहरूमा उत्कृष्ट नतिजा ल्याई कलेज टप गरिरहेका धेरै उदाहरणहरू छन् ।

धेरै नेपाली इन्जिनियरहरू विदेश पलायन भएको देखिन्छ ।  नेपालमा इन्जिनियर उत्पादन धेरै भएको हो ?

होइन । नेपाल जत्तिकै क्षेत्रफल र जनसंख्या भएका देशहरूमा हेर्नुभयो भने हाम्रोमा इन्जिनियरहरू उत्पादन गर्न नसकेको देखिन्छ । दक्षिण कोरीयामा झण्डै एक लाख पचास हजार इन्जिनियरहरू उत्पादन हुँदा नेपालमा वर्षेणी पाँच देखि ६ हजार पनि नयाँ इन्जिनियर उत्पादन हुन सकिरहेका छैन । देश विकासको मेरूदण्ड भौतिक विकासमा धेरै इन्जिनियरहरू चाहिन्छन् ।

नेपालमा सडक, खानेपानी, विजुलीको क्षेत्रमा काम सुरु भएको छ। अलि राम्रो र दूरदर्शी नेतृत्व भएर विकासको परियोजना सुरुवात हुँदा नेपालमै इन्जिनियरहरूको उत्पादन र खपत दुबै हेर्दा यो संख्या कम हुने देखिन्छ ।

कुन इन्जिनियरिङ पढ्ने भनेर द्वविधामा रहेका विद्यार्थीहरूलाई के सुझाव छ ?

गणितमा राम्रो आधार भएका र सृजनशील विद्यार्थीलाई इन्जिनियरिङ उत्कृष्ट रोजाई हुनसक्छ। कुन इन्जिनियरिङ पढ्ने भन्ने विषय मूलतः विद्यार्थीको आफ्नो चाहनासँगै जोडिनु पर्दछ। जुनसुकै इन्जिनियरिङ पढेपनि उत्तिकै राम्रो गर्न सकिन्छ।

इन्जिनियरिङ कलेज- विश्वविद्यालय छान्दा के–कस्ता कुरामा ध्यान दिने ?

विश्वविद्यालय छान्दै गर्दा विश्वविद्यालयको पाठ्यक्रम कतिको अपडेटेड छ, बुझ्नुपर्छ । नेपालमा इन्जिनियरिङ कलेजहरूको नियमन गर्ने निकाय नेपाल इन्जिनियरिङ काउन्सिल हो। जसले दुई किसिमको (अस्थाई र स्थाई) स्वीकृती प्रदान गर्दछ। सामान्यतया स्थायी स्वीकृती प्राप्त कलेजहरू राम्रा छन् भन्ने बुझ्नुपर्छ। कलेजमा विद्यार्थीहरूलाई सपोर्ट कस्तो छ, त्यस कलेजको ल्याब, भौतिक पूर्वाधार, पूर्णकालिन शिक्षक र योग्यता, अनुभव जस्ता कुराहरू महत्वपूर्ण हुन् ।

इन्जिनियरिङ शिक्षा खोज र अनुसन्धानसँग प्रत्यक्ष रूपमा जोडिएको हुँदा अनुसन्धानमा अघि रहेका राम्रो र धेरै रिसर्च पेपर प्रकाशित गरेका कलेज छान्दा राम्रो हुन्छ ।

बजारको आवश्यकतालाई हेरेर पाठ्यक्रम भन्दा बाहिर पनि सफ्ट र हार्ड स्कीलहरूलाई नन् क्रेडिटको रूपमा पढाउने कलेजहरू बढी लाभदायक हुन सक्छन् ।

इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स इन्जिनियरिङको भविष्य र विद्यार्थी भर्ना बारे चिन्ता बढ्दो छ नि ?

हो, समयअनुसार विभिन्न विधामा सामान्य तलमाथि हुनु स्वाभाविक हो  जहाँसम्म इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स इन्जिनियरिङको कुरा छ, यसमा विद्यार्थी र सम्बन्धित अभिभावकहरूलाई बुझाउन नसकेर हो भन्ने मेरो विश्वास छ। अहिले संसार यान्त्रीकरण तथा स्वचालितीकरणमा पुगेको छ। पाँचौँ औद्योगीकरण जसमा मसिन मसिनबीचमा कम्यूनिकेशन हुन्छ ।

रोबोटीक ड्रोन, मसिन लर्निङ, आइ.ओ.टी., आर्टिफिसियल इन्टेलिजेन्स पूर्ण रूपमा विकसित हुँदैछ । अबको भविष्य यिनै विषयको हो। हामीले यो कुरा बुझाउन सक्यौँ भने यसमा चिन्ता गर्नुपर्न खास कारण छैन ।

नेपालमा त अझ हाइड्रो पावर र अन्य नवीकरणीय उर्जा, भ्ख्, सौर्य, हावा जस्ता विद्युतीय शक्तिको अपार सम्भावना र पछिल्लो समय बढ्दो विकाससँगै इलेक्ट्रिकल इन्जिनियरिङको स्कोप झन् बढेर गएको छ ।

नेपालको इन्जिनियरिङ शिक्षा सुधार्न के गर्न सकिन्छ ?

सैद्धान्तिक रूपमा पाठ्यक्रम उत्कृष्ट छन् । टिचीङ्ग लर्निङ्ग अप्रोचमा केही फेरबदल आवश्यक छ। विद्यार्थीहरूलाई प्राक्टिकलमा जोड दिन आवश्यक देखिन्छ । कलकारखाना (इन्डस्ट्री)सँगको समन्वय र अनुसन्धानमा जोडिनुपर्दछ । विद्यार्थीहरूलाई आवश्यक हार्ड स्कील र सफ्ट स्कील दुबै दिएर बजारमा जान सक्षम बनाउन आवश्यक छ ।

विश्वविद्यालयले समयमै परीक्षा लिने, नतिजा प्रकाशन गर्ने र शैक्षिक क्यालेण्डर पूर्ण रूपमा लागू गर्नुपर्छ ।  वार्षिक रूपमा विश्वविद्यालय र कलेजहरूको नियमन र निरीक्षण गरिराख्नुपर्छ ।

अन्तमा केही भन्न चाहनुहुन्छ ?

स्वदेशमै न्यून शुल्कमा गुणस्तरीय शिक्षा पाउनु विद्यार्थीको अधिकार पनि हो । राज्यले नीतिगत तहमा केही निर्णयहरू लिनु आवश्यक छ । नेपाललाई शैक्षिक केन्द्र बनाई अनुसन्धानसँग जोड्न आवश्यक छ ।

नयाँ स्टार्टअपहरू खोल्ने वातावरण तयार पार्नु हामी सबैको कर्तव्य पनि हो। अहिले बजारमा भ्रम सिर्जना गर्ने तथा ठूलो प्रचारबाजी गरेर नेपालको शिक्षामाथि चौतर्फी आक्रमण भएको छ। यसलाई रोक्न ठोस कदम चाल्न आवश्यक छ ।

'सर्वोच्चमा पाँच वर्ष नाघेका मुद्दा शून्यमा झार्ने योजना थियो तर न्यायाधीश नभएका कारण सकिएन'

इकागज | साउन १९, २०८०

मुलुकको कानुनी क्षेत्रमा प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित नेपालको ३०औँ प्रधानन्यायाधीश हरिकृष्ण कार्की ...

हिक्मत कार्की भन्छन्- जोसुकैलाई मुख्यमन्त्री दिन सकिन्छ, कांग्रेस–एमाले मिल्न पनि ओपन छौं

बाबुराम भण्डारी | साउन १२, २०८०

काम चलाउ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की शुक्रबार विराटनगर फर्किएका छन् । उनले कोशी प्रदेशमा उद्धव ...

‘साथीहरूले हामीलाई नेतृत्वको जिम्मेवारी सुम्पनेमा ढुक्क छौं’

इकागज | असार २९, २०८०

काठमाडौँ- शैक्षिक परामर्श संघ (इक्यान)को शनिबार हुने महाधिवेशनमा नेतृत्वका लागि चार जना प्रतिस्पर्धी मैद...

रास्वपा सांसद विनिता कठायतलाई प्रश्‍न : के सांसदलाई तलबभत्ता नपुगेकै हो ?

सदिक्षा आचार्य | असार २६, २०८०

२०७९ साल मङ्सिर–४मा  प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सम्पन्न भयो । प्रत्यक्ष तर्फका सांसदहरूको...

'न्यायाधीशले गोला तान्न थालेपछि फैसलामा निष्पक्षता बढेको छ'

बाबुराम भण्डारी | असार २५, २०८०

एक महिना र थप केही दिन कुर्सीमा बस्ने सर्वोच्च अदालतका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीका लागि यही अवधिमा ...

'मध्यावधि टार्ने जिम्मा राप्रपाको होइन, काेशीमा अरु दल मिलेर सरकार बनाए भाे नि'

बाबुराम भण्डारी | असार २०, २०८०

कोशी प्रदेशमा नयाँ सरकार गठनको समय सीमा असार २१ गते साँझ ५ बजेसम्म रहेको छ । प्रदेशमा अहिले विपक्षी ग...