कांग्रेस र एमाले मिलेर प्रदेशमा सरकार गठन गर्ने, केन्द्रमा चुनावी सरकारलाई सहयोग
काठमाडौँ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अलमल्याउने र धोका दिने रणनीति अख्तियार गरेको भन्दै सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी एमालेसँग संवाद अघि बढाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार ‘प्रचण्डको कुनै विश्वास भएन’ भन्दै झोक्किएका थिए । देउवाले हिजो नै दाहालबाट माओवादी केन्द्रको संसदीय दलको बैठकले ‘एमसीसी सम्झौताको प्रस्ताव संसदमा ल्याए विपक्षमा मतदान गर्ने र सरकार छाड्ने’ सन्देश सुनेपछि प्रतिपक्षी एमालेसँग संवाद अघि बढाउन आफू निकट नेताहरूलाई पठाएका थिए ।
नेपाली कांग्रेस र एमालेका नेताहरूबीचको भेटमा 'शर्त र शंका'का बारेमा छलफल भएको थियो । त्यस्तै, दुई दलका अन्य नेताहरूबीच पनि विभिन्न चरणमा छलफल भइरहेको छ ।
प्रधानमन्त्री देउवाले आज गठबन्धनको बैठकमा साझेदार दलसँग सहयोगका लागि अन्तिमपटक आग्रह गर्ने र त्यसमा सहमति नजुटे गठबन्धनलाई निरन्तरता दिन नसक्ने घोषणा गर्नेछन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसी सम्झौता निर्वाचनपछि मात्र संसदमा ल्याउने बताउँदै आएका छन् । ‘एमसीसीलाई लिएर निर्वाचनमा जान सकिदैंन, यसको छिनोफानो चाँडै संसदबाट हुन्छ,’ नेपाली कांग्रेसका एक नेताले भने, ‘माओवादीले बालहठ गर्यो । यस्ता नाजायज कुरा स्वीकार गरेर सधैं पेण्डुलम भएर हिंड्ने कुरा भएन ।’
नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सरकारले सम्झौता गरेर परियोजना कार्यान्वयनको चरणमा प्रवेश गर्न सबै पूर्वतयारी सम्पन्न भैसकेको एमसीसी सम्झौताबाट अब पछि हट्ने ठाउँ नभएको बताए ।
कांग्रेस र एमालेबीच एमसीसी सम्झौता पास गर्ने, सभामुखविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तथा प्रदेशमा कांग्रेस र एमालेको संयुक्त सरकार निर्माण गर्ने र अहिले फुटाएका मन्त्रालय घटाएर छरितो मन्त्रीमण्डल बनाउने तथा केन्द्रमा नेपाली कांग्रेस नेतृत्वको चुनावी सरकारलाई सघाउने तर सरकारमा सहभागी भने नहुने लगायतका विषयमा संवाद अघि बढेको कांग्रेसका ती नेताले बताए ।
जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराईको समेत समर्थन लिएर एमाले र कांग्रेसले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउनुका साथै पारित गराउन गृहकार्य सुरु भैसकेको बुझिएको छ ।
गठबन्धनले समर्थन फिर्ता लिएपछि देउवा नेतृत्वको कामचलाउ सरकारले ६ महिनाभित्र संघ र प्रदेशको निर्वाचन गराउने बुझिएको छ ।