आठौँ पटक सगरमाथा आरोहण गर्ने तामाङसहित पाँच जना आरोही माओवादीमा प्रवेश
काठमाडौँ- सगरमाथाको आठौँ पटकसम्म आरोहण गर्ने रसुवा जिल्ला कालिका गाउँपालिका- १ का कामी सिङ्गी स्याङ्बा तामाङसहितको आरोहीहरूको टोली सोमबार माओवादी केन्द्रमा प्रवेश गरेको छ । उनीहरूलाई पार्टी अध्यक्ष दाहालले सोमबार निवास खुमलटारमा आयोजित एक कार्यक्रममा स्वागत गरेका थिए ।
यसरी प्रवेश गर्नेमा ७ पटक सगरमाथा आरोहण गर्ने सोही वडाका लाल बहादुर तामाङ, २ पटकसम्म सगरमाथाको आरोहण गर्ने मिङमार तामाङ, समाजसेवी तथा युवा व्यवसायी नामग्याल तामाङ, नेपाली कांग्रेसका सक्रिय सदस्य तथा युवा व्यवसायी छिरिङ तामाङ लगायतका व्यक्तिहरू रहेका छन् । उनीहरूलाई अध्यक्ष दाहालले टीका र माला लगाई पार्टी प्रवेश गराएका थिए ।
सो अवसरमा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, रसुवा जिल्लाका नेताहरू जगतजंग, समिर, दावा मोक्तान तामाङलगायतका नेताहरूको उपस्थिति रहेको थियो । अध्यक्षले पार्टीमा प्रवेश गर्ने सबैलाई उचित जिम्मेवारी दिने बताए । रसुवा जिल्लाका नेताहरूले जिल्लाका समस्याहरूका बारेमा अध्यक्षलाई अवगत गराउँदै जिल्लाको वस्तुस्थिति बुझ्न रसुवा जिल्लामा आमन्त्रण गरेका थिए ।