रूपन्देही घटनामा आफ्नो संलग्नता नरहेको गृहमन्त्री खाणको स्पष्टोक्ति
काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले बल प्रयोग गराएर आफू पक्षका नेता कार्यकर्तामाथि आक्रमण गराएको भन्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले लगाएको आरोपको मन्त्री खाणको सचिवालयले खण्डन गरेको छ ।
आफ्नो पक्षले पदाधिकारीमा हार्ने निश्चित भएको र प्रदेश प्रतिनिधिमा हारेपछि पौडेल समूहले रुपन्देही प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ३ (क)मा लफडा झिकेको भन्दै गृहमन्त्रीलाइ अनावश्यक रूपमा मुछ्ने बद्नियतपूर्ण काम भएको उल्लेख छ । लफडा झिकेर सो समूहका मत गणना प्रतिनिधि बाहिरिएपछि प्रदेश सभा क्षत्रीय समितिका पदाधिकारीसहित कार्यसमितिको मत गणना रोकिएको बताइएको छ ।
क्षेत्रीय प्रतिनिधिको मतगणना सकिँदा १६ प्रतिनिधिमध्य पौडेल समूहबाट एक जनामात्र निर्वाचित भएका थिए । कार्यसमितिमा एक सय मतगणना हुँदा संस्थापनका उम्मेद्वार सुरेन्द्रजंग थापा १९ भोटले अगाडि थिए । प्रदेश सभा क्षेत्रीय सभापतिमा पौडेल समूहबाट पुरणप्रसाद श्रेष्ठ उम्मेदवार छन् ।
प्रतिनिधिमा आफ्नो समूहको लज्जास्पद् हार भएको र कार्यसमितिमा पनि हार हुने निश्चित भएपछि कांग्रेस रुपन्देहीका पूर्वसभापति रामचन्द्र ढकाल, प्रतिनिधि सभा सांसद भरतकुमार शाह, लुम्बिनी प्रदेश सभा सांसद रमा अर्याल, प्रदेश सभाको निर्वाचनका प्रत्याशी हरि न्यौपानेले लफडा झिकेको खाण पक्षधरको दाबी छ । प्रदेशसभा सांसद अर्यालका श्रीमान हेमराज अर्याल प्रदेश प्रतिनिधिमा पराजित भएका थिए ।
आफ्नो समूहको प्रतिनिधिमा र कार्यसमितिमा पराजय निश्चित भएपछि पौडेल समूहले गृहमन्त्री बालकृष्ण खाण र रुपन्देही कांग्रेसका सचिव रामकृष्ण खाणमाथि दोषारोपण गरेर लफडा सिर्जना गरिएको र यसमा गृहमन्त्री खाणको विरोधमा देखिने प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति शाहले आगोमा घिउ थप्ने काम गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।
गृहमन्त्री खाण अहिले काठमाडौँमै छन् । कांग्रेस रुपन्देहीका सचिव खाणका अनुसार पौडेल समूहले भनेजस्तो झगडा मत गणनास्थलमा भएको होइन । मदिरा सेवन गरेका २/३ जना कांग्रेसका नेताहरूबीच मतगणनास्थलभन्दा बाहिर सडकमा झडप भएको थियो । मदिरा सेवन गरेर सडकमा झगडा गर्दा कांग्रेस साधारण कार्यकर्ता शैलेष पन्त सामान्य घाइते भएका थिए । त्यही झडपको बहाना बनाएर रुपन्देहीको क्षेत्र नं. ३ ‘क’ को मतगणनामा पौडेल समूहले लफडा झिकेको उनीहरूको भनाइ छ ।
प्रदेश प्रतिनिधिमा पति हेमराज पराजित भएको झोँकमा सांसद रमाले मतगणनामा बसेका आफ्नो समूहका प्रतिनिधिलाई बाहिर बोलाएकी थिइन् । रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ को प्रदेश ‘ख’मा देउवा समूहले क्लिन स्वीप गरेको छ ।