फोटो ग्यालरी

नेपाल टेलिकमले फाइभ जी सेवामा लैजान तयारी गर्नुपर्छ : मन्त्री गुरुङ

इकागज | माघ २२, २०७७

काठमाडौं : सञ्‍चार  तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमले फाइभ जी सेवामा लैजानको निम्ति तयारी गर्नुपर्ने बताएका छन् । बिहीबार नेपाल टेलिकमको १७औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपाल टेलिकमले तुरुन्तै फाइभ जीमा जानको लागि तयारी गर्नुपर्ने बताए ।

फोर जी सेवाको व्यवस्थापन, कार्यान्वयन तथा लगानी गर्दाको प्रभावकारीता समीक्षा गर्दै फाइभ जीतर्फ जानुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । नेपाल टेलिकमको फ्रिक्वेन्सीहरुलाई प्रयोगहिन नबनाउन उनले आग्रह समेत गरे । मन्त्री गुरुङले नेपाल टेलिकमलाई पूर्वाधार कम्पनीको रुपमा अघि बढाउनुपर्ने पनि बताए ।

टेलिकमलाई पूर्वाधार कम्पनीको रुपमा व्यवस्थापन गर्ने पहलकदमी मन्त्रालयले लिने उनको भनाइ छ । उनले कर्मचारीको नियमावली पास गरेर कर्मचारी व्यवस्थापनको क्षेत्रमा नयाँ ढंगले सुधार गर्नुपर्ने पनि बताए । कर्मचारीहरूले फिल्डमा जान मन नगरेको भन्दै उनले कार्यविधि बनाएर कर्मचारी एकपल्ट फिल्डमा जानैपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।