बाँकेमा थप चार संक्रमितको मृत्यु
नेपालगञ्ज : बाँकेमा कोरोना सङ्क्रमणबाट बिहीबार थप चार जनाको उपचारको क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, कोहलपुरस्थित शिक्षण अस्पतालमा एक र एक जनाको उपचारपछि घर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार, भेरी अस्पतालमा वैशाख १७ गते भर्ना भएका बैजनाथ गाउँपालिका-८ का ३७ वर्षीय पुरुषको बिहान १०।३० बजे र वैशाख २२ गते भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका-८ निवासी ५५ वर्षीया महिलाको दिउँसो १२ बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी वैशाख २२ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना हुनुभएकी दाङ शान्तिनगर गाउँपालिका निवासी ७५ वर्षीया महिलाको बिहान ९ः१५ बजे मृत्यु भएको छ भने कोहलपुर नगरपालिका–१ निवासी ७३ वर्षीया महिलाको काठमाडौँबाट घर ल्याउने क्रममा बिहान ५ बजे बाटोमा मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए । यससँगै बाँकेमा कोरोनाबाट १६० जनाको मृत्यु भएको छ । बाहिरबाट बाँकेमा उपचार गराउन आउँदा १२८ जनाको मृत्यु भएको छ ।
होमआइसोलेशनमै मृत्यु
बर्दियाको बारबर्दिया नगरपालिका–८ का एक कोरोना सङ्क्रमित युवकको होम आइसोलेशनमा मृत्यु भएको छ । बारबर्दिया–८ का ३८ वर्षीय युवाको वैशाख १७ गते बाँसगढीको माछागढमा रहेको कोभिड अस्पतालमा एन्टिजेन परीक्षण गराउँदा उनी र उनकी श्रीमतीकोमा पोजेटिभ रिपोर्ट आएको थियो ।
उनीहरुको रिपोट पोजेटिभ आएपछि होमआइसोलेशनमा बस्दै आएका युवाको अस्पताल लैजाने क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी नरेश श्रेष्ठले बताए । बर्दिया जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।
बेलझुण्डी अस्पतालमा शय्या थपिए
कोरोना विशेष अस्पताल बेलझुण्डीमा १०० शय्या सञ्चालनमा आएको छ । अस्पतालका व्यवस्थापक दोर्ण ओलीका अनुसार यसअघि ४२ शय्या सञ्चालनमा थिए । शय्या थपिएसँगै अहिले ५७ बिरामीलाई राखिएको छ । शय्या थपिए पनि अक्सिजन सिलिण्डर नथपिएको भन्दै समस्या हुने गरेको ओलीले दुखेसो पोखे ।
जिल्लाको घोराहीस्थित अक्सिजन उद्योग पुनः सञ्चालनमा आएको छ । यो सञ्चालनमा आएसँगै जिल्लाबाटै अक्सिजन आपूर्ति हुने अपेक्षा गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले पनि तुलसीपुरमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्यााउने गरी प्राविधिकसँग छलफल गरिरहेका छन् ।