गुण्डा लगाएर कुटपिट गरेको भन्दै बर्दिया कांग्रेसका सभापतिसहितले दिए राजीनामा (पत्रसहित)
काठमाडौँ : नेपाली कांग्रेस बर्दियाका सभापतिसहित ४४ जनाले राजीनामा दिएका छन् । गुण्डा लगाएर कार्यवहाक सभापतिसहितलाई कुटपिट गरेको भन्दै उनीहरुले राजीनामा दिएका छन् ।
उनीहरुले पार्टी कार्यालय तालाबन्दी गरी बाहिर गुण्डा परिचालन गरेकाले राजीनामा दिएको भन्दै विज्ञप्ति जारी गरेका छन् । कांग्रेसको १४ औँ महाधिवेशन सम्पन्न गर्ने महत्त्वपूर्ण समयमा पार्टीका नेताहरूमाथि गुन्डा लगाएर हातपात तथा मानसम्मानमा गम्भीर आँच आउने कार्य गरेको भन्दै राजीनामा दिन बाध्य भएको विज्ञप्ति उल्लेख छ ।
बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले गुण्डा परिचालन गरी कार्यवहाक सभापति मिश्रीलाल यादवसहितलाई हातपात र कार्यालय बन्द गरेको आरोप लगाइएको छ । उनीहरुले बिहीबार नै केन्द्रीय कार्यालमा राजीनामा पत्र पठाएका हुन् ।
पार्टीको क्रियाशील सदस्यता वितरण तथा नवीकरणको काम गर्ने बेलामा अवरोध गरेको भन्दै उनीहरुले समस्या भएको उल्लेख गर्दै केन्द्रीय कार्यालयमा राजीनामा पत्र पठाएका छन् ।