कालिकोटमा मनमोहन प्रतिष्ठानको जग्गामा नेकपा एसकाे पार्टी कार्यालय
सुर्खेत – नेकपा एकीकृत समाजवादीले कालिकोट जिल्ला कार्यालयको भवन सदरमुकाम मान्ममा निर्माण गर्ने भएको छ । नेकपा एसले मान्ममा रहेको मनमोहन स्मृति प्रतिष्ठानको जग्गामा भवन निर्माण गर्ने भएको हो । शनिबार एक कार्यक्रममबीच पार्टी कार्यालय भवनको शिलन्यास गरिएको छ ।
कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री कुर्मराज शाही र संविधानसभा सदस्य तुलराज विष्टले संयुक्त रूपमा भवन शिलान्यास गरेका हुन् । कालिकोट सदरमुकाम मान्मस्थित खाँडाचक्र नगरपालिकामा पार्टीको भवन बनाउन लागिएको पार्टी कार्यालयका सचिव भुपेन्द्र बलमे जानकारी दिए । ‘भवन निर्माणको लागि ७० लाख बजेट लाग्ने अनुमान गरिएको छ,’ उनले भने ।
मान्ममा रहेको मनमोहन स्मृति प्रतिष्ठानको जग्गामा भवन निर्माण गर्न लागिएको बलमे बताए । शिलन्यास कार्यक्रममा जिल्ला कमिटी सचिव चित्र सिंह साथै पार्टीका जिल्ला नेता, जनप्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।