बुद्ध जन्मस्थल ब्राण्डिङ गर्ने तयारी, लुम्बिनीमा प्रसूति अस्पताल खोल्न प्रस्ताव
काठमाडौं : बुद्ध जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियकरण गर्न नेपाल पर्यटन बोर्डले लुम्बिनीको ब्राण्डिङ सुरु गरेको छ । लुम्बिनीको नाम लेखाइको ढाँचा, रङ र लोगोलाई अन्तर्राष्ट्रियरूपमा परिचित गराउने उद्देश्यले ब्रान्डिङसम्बन्धी छलफल महत्वपूर्ण भएको सरोकार भएकाले बताएका छन् ।
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले लुम्बिनीको प्रभावकारी प्रचारप्रसार र प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले थालेको लुम्बिनी ब्राण्डिङ उपलब्धिमूलक हुने बताए । उनले निजी क्षेत्र, सङ्घीय सरकार, प्रदेश सरकार र पर्यटन बोर्डले एकीकृतरूपमा लुम्बिनीको प्रवर्धनमा लाग्नुपर्ने बताए ।
डा. गौतमले लुम्बिनीमा प्रसूति अस्पताल खोल्ने गरी छलफल भएको बताए । उनले लुम्बिनीमा आएर बच्चा जन्माउँदा जन्मिने बालबालिकामा बुद्धको जस्तै केही भाव, प्रकृति देखिने विश्वासका साथ प्रचारप्रसार गरेमा विश्वभरिका आमाहरु आफ्ना सन्तान जन्माउन लुम्बिनी आउने बताए ।
लुम्बिनीसँग सरोकार राख्ने सङ्घसंस्था, प्रदेश सरकार, पर्यटन विज्ञ तथा पत्रकारहरुबीच रुपन्देहीको टाइगर प्यालेसमा सोमबार भएको कार्यक्रममा लुम्बिनीका लागि ब्रान्डिङ प्रस्ताव गरिएको हो । प्रस्ताव गरिएअनुसार बुद्ध रङ, अशोका पिल्लर, बुद्ध जन्मस्थल र बुद्ध धर्मसँग सम्बन्धित विभिन्न तथ्यलाई प्रभावकारी ढङ्गले ब्राण्डिङमा प्रस्ताव गरिएको छ । उक्त प्रस्तावित लोगोमाथि अन्तरक्रियाका सहभागीले आ–आफ्ना सुझाव दिँदै लोगोको अक्षर रञ्जना लिपिमा राखेमा अझै प्रभावकारी हुने बताएका छन् ।
लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्रालयका सचिव डा. राजेन्द्र केसीले सरकारले सधैँ लुम्बिनीलाई केन्द्रमा राखेर काम गरिरहेको बताए । केसीले लुम्बिनीको ब्रान्डिङपछि पर्यटन प्रवर्धनमा अझै सफलता प्राप्त हुने बताए । रासस