ब्राजिलका तीन सुरक्षा प्रमुखद्वारा एकसाथ राजीनामा
ब्रासिलिया : ब्राजिलमा सेना, नौसेना र हवाई सेनाका प्रमुखहरूले एकसाथ राजीनामा दिएका छन् । त्यहाँको रक्षा मन्त्रालयले बुधबार सबैले एकसाथ राजीनामा दिएको जानकारी दिएको छ । राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाब दिने प्रयास गरेको विरोधमा उनीहरूले राजीनामा दिएका बताइएको छ ।
राष्ट्रपति जइर बोल्सोनारोले राजनीतिक सङ्कट जेलिरहेका यस अवस्थामा पुनः सेनातर्फका तीन उच्चपदबाट राजिनामा आएको समाचार जनाइएको छ । राष्ट्रपतिसँग मतभेद भएर ब्रजिलका सेना, नबसेना तथा हवाई सेनाका प्रमुखहरूले एकसाथ राजीनामा दिनु यहाँको इतिहासमा सन् १९८५ पछिको पहिलो घटना भएको बताइएको छ ।
गत सोमबार मात्रै आफ्ना विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्न बोल्सोनारो बाध्य हुनु भएको थियो । बोल्सोनारोका समर्थक मानिएका विदेशमन्त्रीले सांसदहरूको आलोचनापछि राजीनामा दिनु भएको भोलिपल्टै सेना, नौसेना र हवाई सेनाका प्रमुखहरूको राजीनामा आएको बताइएको छ ।
सन् २०१९ को जनवरी बोल्सोनारोले सत्ता सम्हालेयताकै सबैभन्दा ठूलो राजनीतिक संकटको सामना गर्नुपरेको छ। कोरोना भाइरस सङ्क्रमणको कारण विश्वमा दोस्रो स्थानमा परेको ब्राजिलमा कोरोनाभाइरस महामारीलाई लिएर राष्ट्रपतिको लोकप्रियता खस्कँदो अवस्थामा रहेको छ ।
ब्राजिलमा कोरोनाभाइरसका कारण अहिलेसम्म तीन लाख १४ हजार व्यक्तिको ज्यान गइसकेको छ भने एक करोड २५ लाखमा सङ्क्रमण पुष्टि भएको छ । (रासस)