ब्राजिलमा कोभिडबाट एकै दिनमा १६५६ को मृत्यु
साओ पाओलो : ब्राजिलमा कोभिड १९ को संक्रमणबाट एकै दिनमा एक हजार ६५६ जनाको ज्यान गएको छ । स्वास्थ्य अधिकारीहरूले दिएको समाचारअनुसार गत २४ घण्टामा १ हजार ६५६ जनाको कोभिड भाइरस संक्रमणबाट निधन भएको हो ।
योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ३ लाख १२ हजार भन्दा बढी पुगेको बताइएको ब्राजिलका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । गत २४ घण्टामा ब्राजिलमा ४४ हजार ३२६ जना थप व्यक्तिमा कोभिड भाइरस संक्रमण देखिएपछि यहाँ कूल संक्रमितको संख्या यहाँका १ करोड २५ लाख भन्दा बढी पुगेको पनि स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको छ । कोरोनाको नयाँ प्रजातिको भाइरसको पनि प्रकोप देखिएको ती अधिकारीले जनाए ।
ब्राजिलका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँका प्रति एक लाख जनामा ५ हजार ४८२ जनामा यो संक्रमण हुने गरेको छ । त्यस्तै यहाँका प्रति एक लाख जनसंख्या संक्रमणमा कम्तीमा पनि १३३ जनाको ज्यान जाने गरेको छ ।
ब्राजिलको साओ पाओलो शहर सुरुदेखि नै यो संक्रमणको एक किसिमले केन्द्रबिन्दुको रूपमा रहेको छ । यस शहरका स्वास्थ्य संस्थाहरू भरिएका छन् भने ती संस्थाका करिब ९१ प्रतिशत जति आकस्मिक कक्षहरू पनि भरिएका छन् ।
त्यसैगरी यसअघि यहाँको मृत्यु दर पनि पहिले ६० वर्षभन्दा माथिका नागरिकको बढी रहेकोमा पछिल्लो समयमा भने यहाँ कोभिड संक्रमणबाट ६० वर्षभन्दा कम उमेरका नागरिकको मृत्युको दर बढेको पाइएको छ । (रासस)