मृतक परिवारलाई रोजगारी दिने सहमतिपछि परिवारले शव बुझे

सुर्खेत- डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका व्यक्तिका परिवारले तीन दिनपछि शव बुझेका छन् । वन सम्बन्धी मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर १३ का ५८ वर्षीय धनीराम लामिछानेको हिरासतभित्र मृत्यु भएको थियो । मृतकका परिवारले कर्मचारीको कुटाइबाट लामिछानेको मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै शव बुझ्न मानेका थिएनन् ।
घटनापछि छानबिन समिति गठन भएको थियो । पीडित परिवारसँग छलफलपछि मृतक परिवारले आज शव उठाएका छन् । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र परिवारबीच भएको वार्तापछि पीडित परिवारलाई रोजगारी दिने सहमति भएको छ ।
एकाघरका आश्रित परिवारमध्ये दुई जनालाई एक महिनाभित्र रोजगारी दिने सहमति भएको छ । डिभिजन वन कार्यालयका अनुसार लामिछानेका आश्रित दुई जनालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वा मातहतका निकायमा रोजगारी उपलब्ध गराउने सहमति भएको हो । एक महिनाभित्र उनीहरूलाई रोजगारीमा लगाउने सहमति भएको छ ।
यस्तै परिवारले माग गरेको २५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन मन्त्रालयले कर्णाली प्रदेशको मन्त्रिपरिषदमा प्रस्ताव लिने भएको छ । लामिछानेका एक जना छोरालाई उच्च शिक्षा छात्रवृत्ति दिने सहमति पनि भएको कार्यालयले जनाएको छ । सहमतिपछि शव पोष्टमार्टम गरी आज दाहसंस्कार गरिएको मृतक परिवारका छिमेकी कुलबहादुर खानले बताए ।
डिभिजन वन कार्यालय वीरेन्द्रनगर हिरासतमा आरोपितको मृत्यु भएको विषयमा छानबिन गर्न शुक्रबार समिति पनि गठन गरिएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा बनेको समितिमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका एक जना अधिकृत, राष्ट्रिय अनुसन्धान कार्यालय सुर्खेतका एक जना अधिकृत, जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानुन सचिव सदस्य रहेका थिए ।
समितिले सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ । बिहीबार बेलुका वन सम्बन्धी मुद्दामा पक्राउ गरिएका व्यक्तिको कार्यालयको हिरासतमा मृत्यु भएको पाइएपछि परिवार तथा आफन्तले पहिलो दिन कार्यालयमै पुगेर आन्दोलन गरेका थिए ।
बिहीबार डिभिजन वन कार्यालय सुर्खेतमार्फत पक्राउ गरिएका वीरेन्द्रनगर-१३ भूतचोकका ५८ वर्षीय लामिछानेको कार्यालयमा पुर्याउने बित्तिकै मृत्यु भएको थियो । आफन्तले पक्राउ गर्नेहरूबाट कुटपिट भएपछि लामिछानेको मृत्यु भएको आरोप लगाएका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा वन कार्यालयका चार जनाविरुद्ध किटानी जाहेरी पनि आफन्तले दिएका छन् ।
डिभिजन वन कार्यालय सुर्खेतका सहायक वन अधिकृत कृष्णराम धिताल, फरेस्टर सन्तोष खत्री, वन रक्षकहरू पिउसराज तिवारी र सुरेन्द्र रानाविरुद्ध किटानी जाहेरी परेको हो । उनीहरू सबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मदन भण्डारी राजमार्गमा पर्ने सुर्खेतको जंगलमा नम्बरिङ गरिएको रुख काटेको आरोपमा लामिछानेलाई पक्राउ गरिएको थियो । कार्यालयको हिरासतमा लामिछाने झुण्डिएको अवस्थामा फेला परेका थिए ।

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया