उमेर नपुग्दै विवाह : किशोरावस्था मै गर्भपतन

सुर्खेत- कर्णाली प्रदेशमा तुलनात्मक रूपमा गर्भपतन गराउनेमध्ये २० वर्षभन्दा कम उमेरका किशोरी धेरै रहेको पाइएको छ । कम उमेरमा गर्भवती हुनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण र गर्भपतन गराउन झनै जोखिम हुने चिकित्सकहरू बताउँछन् ।
पछिल्लो दुई वर्षको तथ्यांकअनुसार सुर्खेतमा गर्भपतन गर्ने २० वर्ष मुनिका किशोरीहरूको संख्याले यस्तो डरलाग्दो दृश्य देखाएको हो । आर्थिक वर्ष २०७७/०७८ मा गर्भपतन गर्नेमध्ये दुई सय ४० जना २० वर्ष मुनिका किशोरीहरू रहेका थिए ।
त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा तीन सय २६ जना २० वर्षमुनिका किशोरीले गर्भपतन गरेको तथ्यांक स्वास्थ्य सेवा कार्यालयसँग छ । यो विवरण सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन गराउनेहरूको हो । सुरक्षित गर्भपतनका लागि निश्चित स्वास्थ्य संस्थाहरू तोकिएका छन् । असुरक्षित गर्भपतन कानुनी रूपमा बर्जित छ । स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार अहिले पनि सुरक्षितभन्दा असुरक्षित गर्भपतन गर्नेहरूको संख्या भने ठूलो छ । सुरक्षित गर्भपतन सबैको पहुँचमा नहुनु तथा समाजका डरले पनि धेरैजसो महिलाहरू असुरक्षित रूपमा गर्भपतन गरिरहेका छन् ।
आर्थिक वर्ष २०७६/०७७ मा सुर्खेतमा दुई हजार चार सय ८३ जनाले गर्भपतन गरेका थिए । २०७७/०७८ मा दुई हजार चार सय ७३ जनाले गर्भपतन गरे । आर्थिक वर्ष २०७८/०७९ मा दुई हजार ६ सय १५ जनाले गर्भपतन गरेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको विवरण छ ।
यो तथ्यांक सुर्खेतमा रहेका सूचीकृत स्वास्थ्य सेवा प्रदायकले राखेका हुन् । ती ठाउँमा निःशुल्क गर्भपतन सेवा दिने गरिएको छ । सरकारले निःशुल्क गर्भपतन सेवा दिएका कारण र सेवा प्रदायक संस्थाहरू पनि विस्तार भएकाले सेवा लिनेहरू पनि बढेको बताइएको छ । सुरक्षित गर्भपतन लिनेको संख्या बढ्नुमा सेवाको पहुँच विस्तार मुख्य कारण रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
किशोरी अवस्थामा प्रजनन अंगहरूको पूर्ण विकास नहुने हुँदा गर्भधारण गर्नु निकै जोखिमपूर्ण हुने स्वास्थ्यकर्मी बताउँछन् । अहिले पनि सुरक्षित गर्भपतन सेवाको पहुँचमा भने धेरै महिलाहरू छैनन् । गर्भपतन सेवा सहर केन्द्रित छन् । ग्रामीण क्षेत्रका महिलाहरू ज्यान नै जोखिममा राखेर असुरक्षित रूपमा गर्भपतन गराउँदै आएका छन् । दक्ष जनशक्ति र सूचीकृत स्वास्थ्य संस्थाको अभावमा यो सेवा सबैको पहुँचमा पुग्न नसकेको हो । कतिपयले सरकारी स्वास्थ्य संस्थामा गोपनीयता नहुने आशंकामा पनि असुरक्षित गर्भपतन गराउने गरेको पाइन्छ ।
गर्भपतनका लागि पायक पर्ने ठाउँमा सूचीकृत सेवा प्रदायक संस्था र तालिम प्राप्त जनशक्ति नहुँदा पनि असुरक्षित गर्भपतन गर्नुपर्ने बाध्य छ । सुर्खेतका नौ मध्ये दुई वटा पालिकामा अझै पनि सुरक्षित गर्भपतन सेवा उपलब्ध छैन । चौकुने र सिम्ता गाउँपालिकामा सुरक्षित गर्भपतन गर्ने सूचीकृत सेवा प्रदायक संस्था छैनन् । जसले गर्दा त्यहाँका महिलाहरू सेवा लिन टाढा जानुपर्ने बाध्यता छ ।
टाढा जानुपर्ने झन्झटले गर्दा धेरैजसोले नजिकको मेडिकलबाट औषधि प्रयोग गरी असुरक्षित रूपमा गर्भपतन गर्ने गरेका छन् । हाल सुर्खेतमा सुरक्षित गर्भपतनका लागि १९ वटा स्वास्थ्य संस्था सूचीकृत छन् । त्यसमध्ये १० वटा सरकारी र नौ वटा निजी स्वास्थ्य संस्था हुन् । सुरक्षित गर्भपतनका लागि स्वास्थ्य संस्थाभन्दा पनि जनशक्तिको निकै ठूलो अभाव छ । तालिम प्राप्त स्वास्थ्यकर्मीको सरुवा भइरहने हुँदा सेवालाई निरन्तरता दिन समेत कठिनाइ हुने गरेको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
सुरक्षित गर्भपतनका लागि सचेतनामूलक कार्यक्रम आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् । सचेतनासँगै सेवाको पुहँच विस्तारमा ध्यान दिइनुपर्ने उनीहरूको भनाइ छ ।
छोराको चाहनामा गर्भमा छोरी भए पतन गर्ने आपराधिक मानसिकले पनि असुरक्षित गर्भपतन बढेको भन्दै गएकाले यसलाई रोक्न सबै सचेत हुनुपर्नेमा जोड सरोकारवालको जोड छ । कानुनले अपराध ठाने पनि लुकिछिपी गर्भपतन गर्ने र यसले जटिलता ल्याउने भनाइ छ ।

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया