निर्वाचनमा होमिए काँग्रेस उपसभापति, भोट माग्न गृह जिल्ला सुर्खेतमा

सुर्खेत- नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का आज सुर्खेत आइपुगेका छन् । मंसिर चार गते हुने चुनावमा भोट माग्नका लागि खड्का गृह जिल्ला सुर्खेत आइपुगेका हुन् । खड्का सुर्खेत क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेदवार हुन् ।
२०४८ सालयता हरेक निर्वाचनमा विजयी हासिल गरेका खड्काले २०७४ मा भएको निर्वाचनमा गठबन्धनको असरका कारण झिनो मतले पराजय भोगेका थिए । यसपालि भने खड्कालाई गठबन्धनको साथ रहेको छ । चुनावी अभियानका लागि आज काठमाडौँदेखि सुर्खेत आइपुगेका खड्काले क्षेत्र नम्वर १ का नागरिकहरूसँग भेटघाटमा व्यस्त रहेका छन् । गुर्भाकोट नगरपालिकास्थित सिटी हलमा आजै आयोजित कार्यक्रमलाई उनले सम्बोधन समेत गरे ।
उनले नागरिकका लोकतान्त्रिक अधिकारहरूलाई स्थापित गर्न र अधिनायकवादी प्रवृत्तिका विरुद्ध संघर्ष गर्नका लागि पुनः एकपटक मुलुकको परिवर्तनकारी शक्तिलाई नेतृत्वदायी भूमिकामा पुर्याउन समेत मतदाताहरूसँग अपिल गरेका छन् ।
खड्काले प्रदेश र केन्द्र सरकार वाम लोकतान्त्रिक गठबन्धनको बनेपछि मात्रै कर्णालीको प्रचुर सम्भावनाहरूलाई अवसरमा बदल्न सकिने बताए । सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले जिल्लामा आफूहरूले सुरु गरेका विकास निर्माणका काम पूरा गर्न र कृषि रोजगार, शिक्षा स्वास्थ्यमा सबै नागरिकको पहुँच पुर्याउने काममा आफ्नो ध्यान केन्द्रित हुने बताए ।
‘कर्णालीबाट राष्ट्रिय राजनीतिमा सधैँ मैले समन्वयकारी भूमिका निर्वाह गरेको छु । अब देशको भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न समन्वयकारीसँगै हस्तक्षेपकारी भूमिका मेरो रहन्छ,’ खड्का भन्छन्, ‘सुर्खेतसहित कर्णालीका हरेक समस्याको समाधानका लागि मेरो भूमिका रहँदै आएको छ र रहनेछ ।’
उनले आफूलाई समृद्ध र सुशासनयुक्त समाज निर्माण गर्ने अभियानमा लागेको औँल्याए । खड्काले स्थिरताका पक्षमा सडकदेखि सदनसम्म आवाज बुलन्द गर्ने र भ्रष्टाचारमुक्त, सुशासनयुक्त देश निर्माणका लागि सत्ता गठबन्धन बनेको बताए ।
फरक प्रशंगमा उनले सुर्खेत विमानस्थल विस्तारका सन्दर्भमा केही प्राविधिक समस्या रहेको भन्दै प्रभावित क्षेत्रका नागरिकको समस्यालाई पनि बुझ्नुपर्ने बताए । उनले विमानस्थल विस्तारका लागि अन्य वैकल्पिक ठाउँहरूको पनि खोजी भएको जिकिर गरे । विमानस्थल विस्तारको विषयलाई लिएर राजनीति नगर्न पनि उनले सबैलाई आग्रह गरे ।

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया