कर्णाली राजमार्गमा सञ्चालित सवारी साधनको भाडा दर कायम

कर्णाली-कर्णाली राजमार्गमा सञ्चालन हुने सवारी साधनको भाडा दर कायम गरिएको छ । महँगी बढेकाले नयाँ भाडा दर कायम गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय जुम्लामा कात्तिक १५ मा बसेको बैठकले नेपाल सरकारले गत असार २७ गते निर्धारण गरेको भाडा दरअनुसार जुम्ला, कालीकोट र सुर्खेतसम्मको भाडा दर कायम गरिएको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले जानकारी दिए ।
उनका अनुसार उक्त निर्धारित भाडा दरमा १५ प्रतिशत बढाएर नयाँ भाडा दर कायम गरिएको हो । जसमा जुम्ला–सुर्खेतसम्मको एक हजार दुई सय ८३ भाडा दरमा १५ प्रतिशत बढाएर रु एक हजार चार सय ७५ कायम गरिएको छ । त्यस्तै मिनिबस/हाइसको एक हजार ५७० लाई बढाएर रु एक हजार आठ सय पाँच कायम गरिएको छ ।
त्यस्तै जुम्ला–सुर्खेत जीपका लागि रु एक हजार आठ सय ४५ मा १५ प्रतिशत बढाएर रु दुई हजार एक सय २१ भाडा पुगेको उनले बताउ । प्रमुख महतका अनुसार जुम्ला काठमाडौँका लागि रु चार हजार भाडा लिने गरेको बसको भाडा दर रु तीन हजार दुई सय २० कायम गरिएको छ ।
नागरिकले अटोरिक्सा, जीप, हाइस/मिनिबस, बसलगायतका सवारीसाधनले महँगो भाडा लिएर नागरिकलाई मर्कामा पारेको जनगुनासो आएपछि कर्णाली राजमार्गमा सञ्चालन हुने सबै प्रकारका सवारी साधनको भाडा दरमा हेरफेर गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिए ।
कर्णाली प्रदेश सरकारले सवारी यातायातसम्बन्धी भाडा दर कायम नगरेको र कानुन पनि नबनाएकाले यहाँका पहाडी तथा हिमाली जिल्लाको भाडा दर कायम गर्न समस्या भएको केसरीको भनाइ छ ।
सवारी यातायातसम्बन्धी ऐन नबनेका कारण मनोमानी तरिकाले व्यवसायीले भाडा असुल्ने गरेको नागरिक समाज जुम्लामा संयोजक राजबहादुर महतले बताए । नागरिकलाई केन्द्रमा राखेर व्यवसायीले न्यायोचित भाडा लिनुपर्ने र त्यहीअनुसार सेवा दिनुपर्ने उनको भनाइ छ ।
स्थानीय दीपक शाहीका अनुसार १५ प्रतिशत भाडा बढाएर दर कायम गरे पनि यातायात व्यवसायीले दुई/चार सय बढी नै असुल्ने गरेको दाबी गरे । नेपाल सरकारको निर्धारित भाडा दरअनुसार पक्की सडकमा ठूलो सवारी साधन प्रति किलोमिटर रु ५ दशमलव ३९, मझौला सवारी साधन प्रतिकिमी रु ६ दशमलव ६० र सानो सवारीसाधन प्रतिकिमी रु ७ दशमलव ७५ छ । जसमा कात्तिक १५ गते जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको बैठकले १५ प्रतिशतले शुल्क वृद्धि गर्ने निर्णय गरेको हो ।
कायम भाडा दर कार्यान्वयनमा आएन
व्यवस्थापक एवं नियमनकारी निकायले भाडा दर कायम गरे पनि यातायात व्यवसायीहरूले त्यसलाई कार्यान्वयनमा ल्याएको छैन । चार दिनअघि जुम्ला प्रशासन बसेर कायम गरिएको भाडा दरभन्दा बढी भाडा असुलेको स्थानीय डिकेश शाहीले बताए ।
उनका अनुसार जुम्ला–सुर्खेत हाइसको भाडा रु एक हजार आठ सय पाँच हुँदा जुम्ला कुडारीबाट सुर्खेतका लागि थप रु छ सय तिर्नुपरेको बताए । छोटो दूरीमा चल्ने अटो रिक्साले प्रतिकिमी रु ८ दशमलव ५२ र जीप तथा भ्यान रु ७ दशमलव ५९ लिनुपर्नेमा १५ प्रतिशत भाडा बढाउँदा पनि प्रतिकिलोमिटर रु १२ देखि १४ दशमलव २८ असुली रहेको जुम्ला तिला गाउँपालिकाका स्थानीय धीरबहादुर सिंहले गुनासो गरे । रासस

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया