कर्णालीमा सत्ता गठबन्धनको बहुमत, सरकार गठन गर्न केन्द्रको मुख ताक्दै नेताहरू

सुर्खेत - कर्णाली प्रदेशमा समानुपातिकको अन्तिम परिणाम घोषणा नहुँदै सरकार गठनका विषयमा शीर्ष नेतालाई भेट्न लर्काे लाग्न थालेको छ । प्रदेश सरकार गठनका लागि राजनीतिक दलका प्रदेश समितिले गरेका निर्णय केन्द्रले नमान्ने भएकाले केन्द्रमा गएर आफ्नो पक्षमा लबिङ सुरु भएको हो।
नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले कर्णालीमा सरकार बनाउन गृहकार्य गरेका छन् । कर्णाली प्रदेश सभाका समानुपातिकबाहेक प्रत्यक्ष तर्फका सबै प्रदेशसभा सदस्य निर्वाचित भइसकेपछि कर्णालीमा पहिले कुन दलले नेतृत्व लिने भन्ने विषयमा चर्चा चल्न थालेपछि शक्ति केन्द्र धाउन सुरु भएको हो ।
कांग्रेस ठूलो दल भएपछि उसले आफ्नो नेतृत्वमा सरकार दाबी गर्ने चर्चा चलिरहेको छ । उसो त माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सरकार गठन गर्नका लागि काठमाडौँमा नेताहरूको भेटघाट तीब्र बनाएको छ ।
कर्णाली प्रदेशमा फेरि पनि जीवनबहादुर शाही नै मुख्यमन्त्री बन्नुपर्ने केही कांग्रेसका नेताहरूको तर्क समेत रहेको छ । माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेत सोमबार, कांग्रेसका उपसभापति पूर्णबहादुर खडका मंगलबार काठमाडौँ गएका छन् ।
माओवादी कर्णालीकी अध्यक्ष विमला केसी समेत काठमाडौँ पुगिसकेकी छिन् । मुख्यमन्त्रीसहित आठ मन्त्रालय कर्णालीमा रहेको छ । समानुपातिक तर्फको सिटको घोषणा नभए पनि दलहरूले प्राप्त गरेको मतका आधारमा काँग्रेसका १४, माओवादीका १३, नेकपा एमालेका १०, राप्रपा र नेकपा एसको एक एक सिट भागमा पर्नेछ । यसका आधरमा कर्णालीमा सत्ता गठबन्धनलाई स्पष्ट बहुमत आउने देखिउको छ । उपमहासचिव शक्तिबहादुर बस्नेतले कर्णालीमा सरकार गठनका विषयमा कुनै छलफल सुरु नभएको बताए ।
कांग्रेसका उपसभापति खड्काले जुनसुकै हालतमा पनि कांग्रेसले कर्णाली सरकारको पहिलो नेतृत्व गर्नुपर्ने अडानका साथ प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएको र सोही अनुसार तयार हुन जानकारी दिएको कांग्रेस वृतमा छलफल चलिरहेको छ ।
अर्थमन्त्री जर्नादन शर्माले रुकुम पश्चिमबाट आफ्ना नातेदार राजकुमार शर्मालाई मुख्यमन्त्री बनाउन माओवादी अध्यक्ष प्रचण्डलाई दबाब दिइरहेको माओवादीका एक नेताले बताए । कांग्रेस र माओवादी दुई ठूला दलबीच कसले पहिले सरकारको नेतृत्व गर्ने विषयमा शीर्ष नेतालाई प्रदेशका नेताहरूले दाबी पेश गरेका छन् । प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच प्रदेश सरकार गठनका विषयमा केही छलफल समेत भएको स्रोतले बताएको छ ।

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया