सार्वजनिक पदमा महिला सहभागिता : के भन्छन् महिला सांसदहरू ?

काठमाडौँ- संसदीय अध्ययन तथा विकास संस्थापनले ‘सार्वजनिक पदमा महिला सहभागिता’ नामक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार बानेश्वरस्थित आनन्द भूमि पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै २०५५ सालमा स्थापना भएको उक्त संस्थापनले जनता र राष्ट्रले भोग्नुपरेको समस्याका बारेमा विभिन्न कार्यक्रम गर्दै संस्थापनाले सेतुको भूमिका निभाउँदै आएको सोमबहादुर थापाले जानकारी गराए ।
कार्यक्रममा बोल्दै सांसद वृन्दा पाण्डेले महिलाले शक्ति नभई सिद्धान्तको राजनीति गर्नुपर्ने कुरामा जोड दिइन् । तर्कको खेल नगरी, तर्कका लागि तर्क गर्न बन्द गरेर बलियो हिसाबमा महिला उत्रिनुपर्ने उनको भनाइ थियो । उनले महिला सांसदले सदनमा नागरिकता, लैंगिक विभेदका सम्बन्धमा एउटै आवाज हुनुपर्नेमा जोड दिइन् ।
सांसद कमला पन्तले महिला विकास समितिको कुरा उठ्नुपर्ने कुरामा जोड दिइन् । महिला विकास समितिले महिलाका मुद्दाहरू राम्रोसँग हेर्न सक्ने र उनीहरू प्रशिक्षितसमेत भइसकेको हुनाले मुद्दामा सहजता हुने उनको अनुभव छ ।
महिलाहरू आलंकारिक पदमा मात्र सीमित नभएर उनीहरूको अर्थपूर्ण सहभागिता हुनुपर्ने उनको धारणा थियो । महिला मतदाताहरूले पनि महिला उम्मेदवारलाई भरपुर सहयोग गर्नुपर्ने अनि मात्रै महिलाको अर्थपूर्ण सहभागिता हुने उनको ठम्माई छ ।
त्यस्तै अर्की सांसद मुक्ता कुमारी यादवले आफू तेस्रो पटक सांसद भएको उल्लेख गर्दै प्रत्यक्ष लडेर जित्न सक्छुभन्दा पनि आफू समानुपातिकबाट आउनुपरेको गुनासो गरिन् । उनले संसद्मा विधेयक पेश भए पनि त्यसबारे आफूलाई थाहा नहुने गरेको गुनासो गरिन् ।
सांसद लिला बोक्हिमले महिला सहभागिता बढ्दै जानुपर्नेमा उल्टै घट्दै गएको बताइन् । महिलालाई मात्रै राखेर भन्दा पार्टीका शिर्ष नेताहरू समेतलाई राखेर महिला सहभागिता बढाउन पहल गर्नुपर्ने उनको ठम्माई छ । त्यस्तै नेपाली काँग्रेसकी अनार बस्नेतले ‘दाइहरूकोमा पहुँच’ नभएमा केही नहुने गुनासो गर्दै राजनीतिमा झनै महिला हिंसा भएको दाबी गरेकी छिन् ।
त्यस्तै कार्यक्रममा सांसद कुसुम थापा मगरले ३३ प्रतिशतलाई महिला सहभागिताको प्रस्थानविन्दु बनाउनुपर्ने र ५० प्रतिशतसम्म पुर्याउनुपर्नेमा जोड दिइन् । त्यस्तै उक्त कार्यक्रममा प्रभा बज्राचार्य, सम्झना भट्टराई, रेखा शर्मा, मिना पुन, कल्याणी रिजाल, सरोज पन्त गुप्तालगायतले महिला सहभागिता अर्थपूर्ण हुनुपर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा डा. रामहरि सुवेदीले साइबर सुरक्षा सम्बन्धी प्रेजेन्टेसनसमेत गरेका थिए । सांसद्, पूर्व सांसद्, कानुनविद्, र सरोकारवालाहरूको सहभागी रहेको उक्त कार्यक्रमको सभापतित्व कांग्रेस नेता दीपकुमार उपाध्यायले गरेका थिए ।

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

प्रतिक्रिया