सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

दोस्रो अक्षरा बालसाहित्य महोत्सव सम्पन्न

काठमाडौँ– अक्षरा स्कुलले आयोजना गरेको दोस्रो अक्षरा बाल साहित्य महोत्सव सम्पन्न भएको छ । आइतबार काँडाघारीस्थित अक्षराको प्रांगणमा उपत्यका भित्रका सरकारी तथा निजी गरी २५ भन्दा बढी विद्यालयको उपस्थितिमा महोत्सव सम्पन्न भएको हो । विभिन्न कार्यक्रम गरी मनाइएको उक्त महोत्सवमा चार हजार बढी अभिभावकको पनि उपस्थिति थियो ।

महोत्सवका प्रमुख अतिथि कलाकार मदनकृष्ण श्रेष्ठले बालबालिकाहरूलाई विद्यालय तहदेखि नै साहित्यको ज्ञान दिनु आवश्यक रहेको बताए । साहित्य विधा आफैँमा महत्वपूर्ण भएकाले हरेक व्यक्ति साहित्यकार बन्न सक्छ भन्नेमा श्रेष्ठले जोड दिए । उनले भने, ‘हरेक मान्छे साहित्यकार बन्न सक्छ, यदि मनमा खेलेका कुराहरूलाई काँटछाँट गरेर प्रस्तुत गर्ने अभ्यास गर्न सकेमा साहित्य जटिल विषय होइन । यसका विभिन्न फरक विधामा अभ्यास हुन जरुरी छ ।’

बालबालिकामा पठन संस्कृतिको विकास र विशेषगरी साहित्यमा ज्ञान अभिवृद्धिका लागि आयोजित महोत्सवमा विद्यार्थी र शिक्षकलाई भाषा शिक्षण, लेखन सीप, रेडियो नाटक, पुस्तकको आवरण चित्र, लेखक, अध्ययन, पात्र चित्रण लगायत विभिन्न शीर्षकमा साहित्यसम्बन्धी कार्यशाला गरिएको थियो । साथै महोत्सवको बन्दसत्रमा विभिन्न विद्यालयका विद्यार्थीहरूलाई कक्षाहरूमा पाठ्यपुस्तकसँगै साहित्यका पुस्तकहरू रमाइलो र अर्थपूर्ण तरिकाले कसरी शिक्षण गर्ने विषयमा समेत अन्तरक्रिया गरिएको थियो । 

बालबालिकामा निर्धारित पाठ्यपुस्तक बाहेक पठन संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा लेखक निलम कार्की नेहारिका र बुद्धिसागरसँग अन्तरक्रिया कार्यक्रम गरिएको थियो । 

अन्तरक्रिया कार्यक्रममा बल्दै लेखकहरूले व्यवहारिक ज्ञानका लागि पाठ्यक्रम बाहिरका पुस्तकहरू बढी आवश्यक भएको बताए । बालबालिकालाई विद्यालयमै विविध विषयमा आधारभूत ज्ञान दिनु आवश्यक भए पनि हालसम्म बाल तथा किशोर साहित्य सम्बन्धी सामग्रीहरू सहज उपलब्ध नहुनु दु:खद् रहेको उनीहरूको भनाइ थियो । 

विद्यालयबाटै संस्कारयुक्त शिक्षाको अभ्यास गरिरहेको अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराईले बाल साहित्य महोत्सवको माध्यमबाट बालबालिकामा पठन संस्कृतिको विकास गर्न सकिने बताइन् । उनले व्यवहारिक ज्ञान र बौद्धिक क्षमता विकासका लागि साहित्यसम्बन्धी पुस्तकको ज्ञान दिइनु अत्यावश्यक रहेको र बाल सुलभ मष्तिष्कमा नै पठन संस्कार विकास गर्न सकेमा कालन्तरमा यसको दीर्घकालीन सकारात्मक प्रभाव पार्नेमा विशेष जोड दिइन् ।