मकवानपुरमा डेङ्गु : सङ्क्रमितकाे संख्या ६ हजारनजिक पुग्दै, पछिल्लो साता शून्य

मकवानपुर । केही महिनाअघि निकै समस्याको रुपमा रहेको डेंगु संक्रमण अहिले मकवानपुरमा नियन्त्रणमा आएको छ ।
पछिल्लो दुई साता दैनिक परीक्षण गर्दा समेत संक्रमितको संङ्ख्या शून्य रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा लामखुट्टे नियन्त्रणका लागि किटनाशक औषधि छर्कनेलगायतको अभियानलाई निरन्तरता दिएपछि लामखुट्टेको संक्रमण कम भएको हो ।
हेटौँडा उपमहानगरपालिकामा गत वैशाख, जेठबाट डेङ्गु रोगको सङ्क्रमण सुरु भएकामा भदौ, असोजमा पुग्दा महामारीको रूप लिएको थियो । उपमहानगरपालिकाले सतर्कता अपनाउँदै वर्षापूर्व नै लामखुट्टे नियन्त्रण गर्न किटनाशक औषधि छर्कने अभियान सुरु गरेको जानकारी दिएको छ ।
दुई दिनयता हेटौंडामा पानी परेको र दिनको तापक्रम बढेको छ । अब फेरि यो संक्रमण बढ्न सक्ने भएकोले स्वास्थ्य कार्यालयले यसको तयारी थालेको बताइएको छ । “सरसफाइबारे जनचेता र लार्भा नाशको लागि औषधि छिट्ने काम अब फेरि सुरु गर्नुपर्ने हुनसक्छ, हामी त्यसको लागि तयारी छौ” स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक लक्ष्मण घिमिरेले भने ।
हेटौडा र आसपासका क्षेत्रमा गर्मीको सुरुवातसँगै लामखुट्टेको टोकाइबाट हुने सङ्क्रमणको जोखिम बढ्न थालेको उनले बताए । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणका कारण चालू आर्थिक वर्ष २०७९÷८० मा हेटौँडा उपमहानगर क्षेत्रका एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्कमा रहेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार गत साउनदेखि हालसम्ममा मकवानपुरमा महिला दुई हजार ६५६ जनासहित पाँच हजार ८६१ जनामा सङ्क्रमण भएको छ ।
स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक घिमिरेले चालु आवमा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा चार हजार ३४० जनामा र त्यसपछि मनहरी गाउँपालिकामा एक हजार ५३ जनामा सङ्क्रमण भएको छ । सङ्क्रमण फैलिन नदिन सचेतना अपनाउन आग्रह गरिएको छ । थाहा नगरपालिकामा गत साउनयता हालसम्म १७५ जनामा सङ्क्रमण भएको पाइएको छ ।
उपमहानगरपालिकाका स्वास्थ्य शाखाका वरिष्ठ अहेव अधिकृत अनन्त बास्कोटाले गत वैशाखदेखि असोजसम्म देखिएको सङ्क्रमणले नगर क्षेत्रमा फैलिएको त्रास रोक्न यस पटक बर्खाअघि देखि नै लामखुट्टे नियन्त्रण गर्ने कार्य सुरु गरिएको र बर्खापछि पुनः लामखुट्टे नियन्त्रण गर्न कीटनाशक औषधिको प्रयोग गरिने बताए ।
“अब महामारीको रूपमा नआओस् भनेर अभियान सञ्चालन गरी संक्रमण नियन्त्रण गर्ने प्रयास सुरु गरिएको छ” बास्कोटाले भने । लामखुट्टे नियन्त्रण गर्ने कार्यका लागि कीटनाशक औषधि छर्कन पाँचवटा मेसिन प्रयोगमा ल्याइएको छ । शाखाका अनुसार अहिले लामखुट्टे नियन्त्रणका लागि प्रयोग भइरहेको औषधिले मानव स्वास्थ्यमा भने नकारात्मक असर नपर्ने बताइएको छ । स्थानीय तह र स्वास्थ्या कार्यालयहरुले मात्रै पहल कदमी गरेर डेङ्गुको संक्रमण नियन्त्रण लिन सकिदैन । सर्वसाधारण सबैले आ–आफ्नो सुरक्षाको लागि शरिर ढाक्ने लुगा लगाउने, हातगोडामा तेल लगाउने, घर र विद्यालय वरपर झाडिहरु नराखि सरसफाइन ध्यान दिन स्वास्थ्यकर्मीहरुको अनुरोध छ ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया