आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

प्रधानमन्त्रीज्यु, सदनमा सांसदहरूकाे जवाफ मन्त्रीहरूले दिएनन् : सभामुख

काठमाडाैँ- प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ ।​ साे भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको सभामुखका पेस संयोजक शेखर अधिकारीले जानकारी दिए । 

उनका अनुसार 'आजबाट समितिहरूको बैठक सुरु भएपछि संसद्ले लय समातेको छ । संसद्‍मा विचाराधीन विधेयकहरू टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको छु । सभामुखका तर्फबाट संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यको जुन प्रयास गर्नुभएको छ, त्यो सराहनीय छ । सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराउँदछु,' प्रधानमन्त्रीले भने । 

जवाफमा सभामुखको भनाइ थियो, 'सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिन चाहन्छु । आजबाट समितिको बैठकहरु उत्साहपूर्ण रूपमा सुरु भएका छन् । संसद् सचिवालयले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको छ । सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको माननीयहरूको गुनासो छ, प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने विश्वास लिएको छु ।'