नागरिकता विधेयक प्रमाणीकरणको विषयमा सत्तारूढ र प्रतिपक्षीबीच मतभेद

काठमाडौँ- नागरिकता विधेयक प्रमाणीकरणको विषयमा सत्तारूढ र प्रतिपक्षीबीच मतभेद देखिएको छ ।
राष्ट्रपतिले असंवैधानिक तवरले नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै प्रतिपक्षीले संसद् बैठक नै अवरुद्ध गरेको छ भने सत्तापक्षले दुई–दुईपटक सदनमा छलफल भएर राष्ट्रपति कार्यालयमा पुगेको विधेयक प्रमाणीकरण स्वाभाविक भएको प्रतिक्रिया दिएको छ ।
एमाले प्रमुख सचेतक पदम गिरीले नागरिकता जस्तो संवेदनशील विषयमा संविधान विपरीत प्रमाणीकरण गरेकाले यसलाई सच्याउनुपर्ने बताए । आइतबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै गिरीले मन्त्रिपरिषद्को पत्रका आधारमा विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिले बताए पनि त्यो संविधान अनुसार नरहेको जिकिर गरे ।
ताजा जनादेश प्राप्त संसद् आइसकेको अवस्थामा उक्त विधेयकलाई दर्ता गरेर प्रक्रियामार्फत नै अघि बढाउनुपर्ने एमालेको धारणा रहेको उनकाे भनाइ छ । त्यस्तै उनले नागरिकता विधेयकमा रहेका विषयवस्तुमा पनि एमालेको असहमति रहेको उल्लेख गरे । विदेशी चेली नेपालीसँग विवाह गर्दा तत्काल नागरिकता दिने प्रावधानले भविष्यमा ठूलो असर पर्ने उनको भनाइ छ ।
त्यस्तै नेपाली कांग्रेसका नेता प्रदीप पाडेलले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा त्रुटी भएको बताए । अघिल्लो राष्ट्रपतिले मन्त्रिपरिषद्ले पठाएको विधेयक प्रमाणीकरण नगर्नु स्वाभाविक नरहे पनि त्यही विधेयकलाई नै अहिले प्रक्रिया मिचेर प्रमाणीकरण भएको उनले बताए । उनले नागरिकता विधेयकभित्रका विषयवस्तुमा भने एमालेले विरोध गर्नुको कुनै अर्थ नरहेको जिकिर गरे ।
यता माओवादी केन्द्रका नेता माधव सापकोटाले संसदमा दुई–दुई पटक छलफल भएर सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रमाणीकरण हुन मात्र बाँकी रहेकोमा अहिले राष्ट्रपतिले प्रमाणीकरण गरेको बताए । अहिले त्यही विषयलाई लिएर सदनमा विरोध गर्नु जायज कुरा नभएको उनकाे तर्क छ । उनले प्रक्रियाका बारेमा सदनमा सबैले कुरा राख्न पाउने भए पनि यसलाई प्रतिपक्षीले सदनमा हंगामा गर्नका लागि विषयमात्रै बनाएको धारणा राखे ।
त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अंगीकृतबाट जन्मेकालाई वंशजको नागरिकता दिनै नमिल्ने बताए । भारतले नेपाललाई सिक्किम र भुटान पर्यन्त गरिरहेको भन्दै त्यसको विरुद्धमा जनता उठ्नुपर्ने उनले बताए ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जेष्ठ १७ गते नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका थिए ।

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

प्रतिक्रिया