आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

विद्युत् प्राधिकरण नेपाली जनताप्रति जवाफदेही छैन : अध्यक्ष शाह

काठमाडौँ– आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु शाहले नेपाल विद्युत् प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष शाहले प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको बताए । 

उनले ऊर्जा क्षेत्रमा ६० अर्ब पैसा छुट्टयाएको भएपनि कहाँ खर्च गर्ने भन्ने स्पष्ट उल्लेख नभएको टिप्पणी गरे । रेडबुकमा स्पष्टसँग विद्युत् प्राधिकरण अन्तर्गत हुने खर्चहरू नलेखिएको भन्दै त्यसरी अपारदर्शी बन्नु पनि भ्रष्टाचार भएको उनको भनाइ छ । 

‘विद्युत् प्राधिकरण नेपाल सरकार र नेपाली जनताप्रति उत्तरदायी छ वा विदेशी शक्ति केन्द्रप्रति जवाफदेही छ ? रेड बुकले के भन्छ भने विद्युत प्राधिकरण जनताप्रति जवाफदेही छैन । सभामुखज्यूले त्यसलाई त फर्काइदिनुपर्ने हो । किनकी ऊर्जामा झन्डै ६० अर्बजति पैसा छ कुन कहाँ के क्रियाकलापमा कसरी खर्च गर्छ भन्ने छैन । वैकल्पिक ऊर्जाको २० पाना ओगटेर झण्डै ४० पेजसम्म कुन–कुन पालिकामा कति–कति लाख भनेर छापेर जनतालाई झुक्याउने ? यति दुनियाँको इन्ट्रेस्ट भइरहेको ऊर्जा क्षेत्र सांसद जान्नै नहुने ?,’ उनले प्रश्न गरे, ‘के छ भित्री कुरा किताब लेख्नै नहुने ? शीर्षक अनुसार गतिविधि सांसदहरुले जान्नै नहुने हो ? कुन ठाउँमा विद्युत प्रशारण बढाउँदै हुनुहुन्छ ? कहाँ सबस्टेशन बढाउँदै हुनुहुन्छ ? के रेडबुकमा आउनै नहुने हो त्यो क्रियाकलापहरु । यसरी अपारदर्शिता भनेकै भ्रष्टाचार होइन ? बक्यौता रकमहरु किन उठाउन पहल भइराखेको छैन ? अन्तिम आर्थिक वर्षमा नाफामा देखाएर दुनियाँलाई झुक्याउने ? एकातिर ठूल्ठूला व्यापारिक घरानाहरुलाई सेवा गर्ने । अर्कोतिर गाउँमा मिटर जोड्नुहुन्छ, चेक पनि गर्न जानुहुन्न । समयमा लाइन पनि दिनुपर्दैन । तर दण्ड ठोकी हाल्नुपर्छ ।’ 

उनले प्राधिकरणले आफूलाई नाफामा देखाएर दुनियाँलाई झुक्याएको बताए । प्राधिकरणले व्यापारिक घरानाहरूलाई सेवा गरेको तर गाउँघरमा विद्युत् प्रशारण गर्न नसकेको बताए । 

सोमबार संसदमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल चलिरहेको छ ।